विराटनगरको बाल सुधार गृहबाट ९ जना बिझ्याइँकर्ता फरार, दुई पक्राउ

विहीबार, २० कार्तिक २०८२

विराटनगर : विराटनगर महानगरपालिका–३ स्थित बाल सुधार गृहबाट बिहीबार दिउँसो ९ जना बाल बिझ्याइँकर्ता फरार भएका छन् । करिब ४ बजेतिर उनीहरूले ड्युटीमा रहेका प्रहरीलाई धक्कामुक्की गर्दै भागेका हुन् ।

सुधार गृहमा राखिएका ती बिझ्याइँकर्ताहरूले कर्मचारीहरू घर जाने समय पारेर गेट खुल्ने मौकामा फरार भएका थिए । भाग्ने क्रममा ड्युटीमा रहेका तीन जना सादा पोसाकका प्रहरी सामान्य घाइते भएका छन् ।

फरार भएकामध्ये दुई जना बिझ्याइँकर्ता प्रहरीको सम्पर्कमा आइसकेका छन् भने बाँकी सात जनाको खोजी कार्य जारी रहेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए । उनका अनुसार फरार हुनेहरू १८ वर्षभन्दा माथिका रहेका छन् र उनीहरूले जबरजस्ती गरेर भागेका हुन् ।

एसपी कटवालले सुधार गृहभित्र क्षमताभन्दा बढी बिझ्याइँकर्ता बस्ने गरेका कारण समस्या बढ्दै गएको बताए । उनका अनुसार सुरक्षाको दृष्टिले त्यहाँका प्रहरीहरू पोसाक र हतियारबिनै ड्युटी गर्नुपर्ने बाध्यता रहेको छ ।

फरार भएकामध्ये दुई जनालाई नियन्त्रणमा लिइसकिएको र बाँकी सात जनाको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको कटवालले बताए । फरार बिझ्याइँकर्ताका परिवारलाई समेत खबर गरी घर पुगेमा तुरुन्तै प्रहरीलाई जानकारी दिन आग्रह गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार