विपद् नियन्त्रण र उद्धारमा सशस्त्र प्रहरी बलका २ हजार ६ सय ६१ प्रहरी परिचालन

शनिबार, १८ असोज २०८२
file pic

काठमाडौँ : मनसुनजन्य विपद् व्यवस्थापन र उद्धार कार्यका लागि सशस्त्र प्रहरी बल नेपालले २ हजार ६ सय ६१ जनशक्ति परिचालन गरेको छ।

शनिवार बिहानदेखि सुरु भएको वर्षासँगै जनधनको सुरक्षा गर्न देशभरका ३ सय ३२ स्थानमा बल तैनाथ गरिएको हो।

सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सशस्त्र प्रहरी बलका नायव उपरीक्षक लक्ष्मण बस्नेतले नदी तटीय क्षेत्र, राजमार्ग र बस्तीमा माइकिङ गर्दै सचेतना जगाउनेदेखि उद्धारका सामग्रीसहित टोली खटाइएको जानकारी दिए।

हालसम्म कुनै गम्भीर घटना नघटेको भए पनि जोखिम न्यूनीकरणका लागि सक्रिय रूपमा काम भइरहेको उनको भनाइ छ।

‘५० मिटर जति नदीले सडक कटान गरेको ठाउँमा बाँस र बोरा हालेर रोकथामको प्रयास भएको छ,’ बस्नेतले भने।

उनका अनुसार कोसी, गण्डकी, बागमती र मधेस प्रदेशमा मात्रै १ सय २९ वटा र्‍याफ्टिङ सेट परिचालन गरिएको छ भने उद्धार टोली र एम्बुलेन्सहरू स्ट्याण्डबाइ अवस्थामा राखिएको छ।

मनसुन सचेतनाका लागि सामाजिक सञ्जालमार्फत सामग्री प्रसारण गर्ने, ६७ जिल्लामा माइकिङमार्फत नागरिकलाई सतर्क गराउने कार्य भइरहेको उनले बताए।

हालसम्म ३ हजार ६ सय ३६ जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति उद्धारका उपकरणसहित तयारी अवस्थामा रहेको जानकारी दिइएको छ।

त्यस्तै, हिमाली क्षेत्रमा पुगेका पर्यटकलाई हिमपात हुन सक्ने पूर्वानुमान अनुसार सुरक्षित स्थानमा फर्कन आग्रह गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार