इटहरीः धरान–धनकुटा सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । मुलघाट र नमस्ते झरना नजिक पहिरो र लेदो माटो थुप्रिएकाले सवारी आवागमन बन्द भएको हो ।
धरानबाट धनकुटातर्फ जाँदै गरेका केही सवारी साधन धरानतर्फ नै फर्किएका छन् । डोजर प्रयोग गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
मध्य पहाडी लोकमार्गअन्तर्गत पाख्रिबास नगरपालिका–५ डिकुरे र वडा नं. ४ पाख्रिबासमा दुई स्थानमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
त्यसैगरी, कोशी लोकमार्गअन्तर्गत साँगुरीगढी गाउँपालिका–१ चनौटे, घण्टे र सिमसुवा क्षेत्रमा तीन स्थानमा पहिरो खसेको छ। यस्तै, रवि–राके सडकखण्डमा समेत साँगुरीगढी–५ लुम्फाजुङ, वालुवाखानी र आसपास क्षेत्रमा पहिरो जाँदा निर्माणाधीन बाटो क्षतिग्रस्त भएको छ।
साथै, चौविसे गाउँपालिका–४ छरुवा खोलामा बाढी आउँदा तमोर करिडोर सडकखण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ। अवरुद्ध सडक खोल्न डोजर परिचालन गरिएको र उद्धार तथा मर्मत कार्य जारी रहेको जानकारी दिइएको छ।
प्रतिक्रिया