झापा । हुलाकी राजमार्ग अन्तर्गत पर्ने कनकाई नदीमा निर्माणाधीन पुल १५ वर्ष बितिसक्दा पनि पूरा नभएपछि स्थानीय युवाहरूले आज सरकारको ध्यानाकर्षण गराएका छन् ।
झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाको बीचमा पर्ने माई खोलाको पुल लामो समयदेखि अलपत्र परेको भन्दै स्थानीयले पुनः निर्माण कार्य तत्काल अघि बढाउन माग गरेका हुन् ।
स्थानीय मुकेश राजवंशीको नेतृत्वमा भेला भएका करिब १७–१८ जना युवाहरूले आज बिहान १० बजेदेखि ११ बजेसम्म गौरीगञ्ज गाउँपालिका–१ स्थित कनकाई माईपुल क्षेत्रमा प्लेकार्ड सहित धर्ना दिएका थिए । उनीहरूले ‘हामीबाट भयो भुल, सरकार चाँडो बना कनकाई पुल’ लगायतका नारासहित सरकारको ध्यानाकर्षण गराएका थिए ।
स्थानीयहरूका अनुसार पुल नबन्दा हरेक वर्ष बाढीका समयमा आवागमन ठप्प हुने, बिरामीलाई अस्पताल पुर्याउन कठिनाइ हुने र विद्यार्थीहरूले विद्यालय जानसमेत समस्या भोग्नुपर्ने अवस्था छ ।
उनीहरूले स्थानीय, प्रदेश र संघीय सरकारलाई तत्काल पहल गरी पुल निर्माण पूरा गर्न आग्रह गरेका छन् । स्थानीयको भनाइमा, विकासका वाचा धेरै भए पनि पुल अझैसम्म अधुरो रहनु जनताको अपमान सरह भएको छ ।
प्रतिक्रिया