झापा । झापामा हालैको बाढी र डुवानबाट प्रभावित परिवारलाई सहयोगस्वरूप झापाली समाज कुवेतले एक लाख ७१ हजार रुपैयाँ प्रदान गरेको छ । ‘एकका लागि एक अभियान’ मार्फत बाढीपीडित ५५ परिवारका लागि राहत वितरण गर्न उक्त रकम सहयोग गरिएको हो ।
समाजका अध्यक्ष लीला पाण्डेसहितको टोलीले बुधबार बिर्तामोडमा आयोजित संक्षिप्त समारोहबीच राहत प्रयोजनका लागि जुटाइएको रकम ‘एकका लागि एक अभियान’का संयोजक महेन्द्रकुमार गिरीलाई हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले मातृभूमिमा विपद् आइपरेका बेला कुवेतमा रहेका झापालीहरू एकजुट भएर सहयोगमा जुटेको बताए । उनले आगामी दिनमा पनि यस्तै मानवीय सहयोगका कार्य निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अभियानका संयोजक गिरीले समाजको सहयोगप्रति आभार व्यक्त गर्दै झापाका बाढीपीडितका लागि अझ व्यापक सहयोग अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया