‘आफ्ना आँखालाई माया गरौं, सबका लागि दृष्टि सुनिश्चित गरौं’ - डा. सुबास पोखरेल

विहीबार, २३ असोज २०८२

इटहरी । हरेक वर्ष International Agency for the Prevention of Blindness (IAPB) को पहलमा अक्टोबर महिनाको दोस्रो बिहीबारका दिन विश्व दृष्टि दिवस (World Sight Day) मनाइन्छ। यस वर्ष यो दिवस असोज २३ गते (अक्टोबर ९, २०२५) का दिन विश्वभर मनाइँदैछ। दृष्टि र नेत्र स्वास्थ्यप्रति जनचेतना जगाउने उद्देश्यले मनाइने यो दिवसलाई विश्वव्यापी रूपमा आँखाको स्वास्थ्यसँग सम्बन्धित उत्सवका रूपमा मनाइन्छ।

नव दृष्टि आँखा अस्पतालका डा. सुबास पोखरेलका अनुसार यस वर्षको नारा — “Love Your Eyes” (आफ्ना आँखालाई माया गर्नुहोस्) — रहेको छ, जसले हरेक मानिसलाई आफ्ना आँखाको स्याहार, जाँच र संरक्षणप्रति सचेत रहन प्रेरित गर्छ। आँखाको नियमित जाँचले दृष्टि समस्या समयमै पत्ता लगाउन र अन्धोपनाबाट जोगिन मद्दत गर्छ भन्ने सन्देश यस वर्ष पनि विशेष रूपमा प्रवाह गरिएको छ।

पोखरेलका अनुसार विश्वभर करिब एक अर्बभन्दा बढी मानिस दृष्टि समस्या भोगिरहेका छन्, जसको रोकथाम वा उपचार सम्भव थियो। अझै पनि करोडौँ मानिस आवश्यक नेत्र उपचार र परामर्श सेवाबाट वञ्चित छन्। त्यसैले यस वर्षको विश्व दृष्टि दिवसले सबैलाई #LoveYourEyes अभियानमा सहभागी हुन आह्वान गरेको छ, ताकि प्रत्येक व्यक्तिलाई स्वस्थ दृष्टि र गुणस्तरीय नेत्र स्वास्थ्य सेवा उपलब्ध होस्।

आफ्नो आँखा र दृष्टिलाई कसरी माया र हेरचाह गर्ने ?

  • आफ्ना वा परिवारका सदस्यका आँखाको नियमित जाँच गरौं।

  • दृष्टि सम्बन्धी अनुभव र कथा साझा गरौं।

  • आँखाको स्वास्थ्यका लागि स्थानीय अस्पताल वा शिविरमा सहयोग गरौं।

  • सरकार र समुदायमा आँखाको स्वास्थ्यलाई प्राथमिकतामा राख्न आग्रह गरौं।

  • सामाजिक सञ्जालमा #WorldSightDay र #LoveYourEyes ह्यासट्याग प्रयोग गरौं।

डा. सुबास पोखरेल भन्छन्  'दृष्टि सबैको अधिकार हो, सुविधा होइन। आफ्ना आँखालाई माया गरौं, सबका लागि दृष्टि सुनिश्चित गरौं।'

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार