नख्खु कारागारबाट भागेका कैदीले गरे ठमेलमा युवकको हत्या

शुक्रबार, २४ असोज २०८२

काठमाडौं : ललितपुरस्थित नख्खु कारागारबाट भागेका एक कैदीले राजधानीको ठमेल क्षेत्रमा एक युवकको हत्या गरेको खुलासा भएको छ। फरार कैदी आकाश मगरले २५ वर्षीय सुरज तामाङलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले पुष्टि गरेको हो।

घटना असोज १३ गतेको हो। मकवानपुर घर भई मनमैजु बस्दै आएका तामाङमाथि मगरले ठमेलमा आक्रमण गरेका थिए। खुकुरी प्रहारबाट गम्भीर घाइते तामाङलाई तत्काल उपचारका लागि वीर अस्पताल पुर्याइएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार यो हत्या पुरानो रिसइबीका कारण भएको हुनसक्छ।

आकाश मगर ‘लुटपाट तथा डकैती’ मुद्दामा सजाय भोग्दै नख्खु कारागारमा थिए। तर, असोज २४ भन्दा अघि, २४ भदौमा जेन–जी आन्दोलनका क्रममा कारागार तोडफोड गर्दै उनी फरार भएका थिए।

हत्यापछि पनि उनी अझै फरार छन्।

प्रहरीले घटनास्थल वरपरको सीसीटीभी फुटेज, साथै प्राविधिक र म्यानुअल अनुसन्धानका आधारमा हत्यामा फरार कैदी मगरको संलग्नता पाएको जनाएको छ। हाल उनलाई खोजी कार्य जारी छ।

यसअघि पनि नख्खु कारागारबाटै भागेका काभ्रेका सन्तबहादुर तामाङले आफ्नै श्रीमती मनिषा तामाङको हत्या गरेका थिए।

देशभर एकैपटक भएको २४ भदौको कारागार तोडफोड र आगजनीका क्रममा करिब १५ हजारकै हाराहारीमा कैदीबन्दी फरार भएका थिए। अहिले पनि करिब साढे पाँच हजार कैदीबन्दी फरार रहेको कारागार व्यवस्थापन विभागको तथ्यांक छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार