अरिदमन गणमा दिक्षान्त समारोह सम्पन्न

सोमबार, २७ असोज २०८२

झापा । नेपाली सेनाको चारआलीस्थित अरिदमन गणमा सैन्य आधार तालिम सम्पन्न भएको छ । २०८१ साल मंसीर १६ गतेदेखि सञ्चालन भएको १० औं व्याज सैन्य आधार तालिमको अन्तिम दलेल कवाज (दिक्षान्त समारोह) सोमवार सम्पन्न भएको हो । 

श्री नं. २१ वाहिनी अड्डा तोपगाछी झापाका वाहिनीपति सहायक रथी मनिकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा दिक्षान्त समारोह सम्पन्न भएको हो । 

कार्यक्रमका प्रमुख अतिथि वाहिनीपति सहायक रथी श्रेष्ठले तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाही दर्जामा नियुक्त हुने १०५ जना सैन्यहरुलाई बधाई तथा शुभकामना दिनुका साथै तालिम टोलीद्वारा प्रदर्शन गरिएको कवाजको निरीक्षण गरेका थिए । 

दिक्षान्त समारोहलाई सम्बोधन गर्दै वाहिनीपति सहायक रथी श्रेष्ठले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा गौरवमय इतिहास बोकेको नेपाली सेनाले जहिले पनि राष्ट्रिय स्वतन्त्रता, स्वाधिनता र राष्ट्रिय एकताको पक्षमा काम गर्नुपर्ने बताएका छन् । 

 राष्ट्रको मेरुदण्ड भनेको नेपाली सेना हो, सेनाको मेरुदण्ड भनेको तालिम प्राप्त सिपाही हो त्यसैले नेपाली सेनाले जहिले पनि राष्ट्र प्रति बफादार भई नेपाली सेनाको मूल्य मान्यतालाई आत्मसाथ गरी नेपाली सेनाको छबी उच्च राख्न सदैब तयार हुनु पर्ने वाहिनीपति सहायक रथी श्रेष्ठले बताए । 

कार्यक्रममा विभिन्न विधाहरुमा उत्कृष्ट हुने सैन्यहरुलाई पुरस्कृतसमेत गरिएको थियो । श्री अरिदमन गणबाट दिक्षित भएका एक सय  पाँच जना सैन्यहरु मध्य पाल्पा जिल्ला रम्भा गाँउपालिका ४ स्थायी घर भएका सैन्य योगेन्द्र बहादुर दिसा उक्त तालिममा सर्वोत्कृष्ट हुन सफल भएका थिए । 

९ महिने सैन्य आधारभूत तालिम पूरा गरेका सिपाहीहरु नेपाली सेनाका विभिन्न युनिटहरुको दरबन्दीमा नियक्ती हुने जनाइएको छ । 

दिक्षान्त समारोहमा श्री अरिदमन गणका कर्णेल कमाण्डडान्ट उपरथी सागरबहादुर थापा, मेचीनगर नगरपालिका मेयर गोपालचन्द्र बुढाथोकी, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, वाहिनी अड्डाका अधिकृतहरु, श्री अरिदमन गणका गणपति, अधिकृतहरु, झापा जिल्ला स्थिती सुरक्षा निकायका प्रमुखहरु, विभिन्न कार्यालयका प्रमुख, पत्रकारहरु र  दिक्षित भएका सिपाहीहरुका परिवार तथा आफन्तजनहरुको समेत सहभागिता रहेको थियो । 

यसैगरी नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरुमा देशभर जम्मा २ हजार ४ सय ६ जना सैन्यहरु दिक्षित भएका छन ।  

तालिममा सर्व प्रथम योगेन्द्र दिशा, ड्रिलमा प्रथम– रमेश गुरुङ्ग, दौडमा प्रथम–विपेश कार्की, फायरिङ्गमा प्रथम– सन्दिप पुन, बाँधापारमा प्रथम– टिका राम राना, कमान्डिङ्ग अफसर मोटिभेशनमा प्रथम–सुमन वाईवा भएका थिए ।

उनीहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथि  वाहिनीपति सहायक रथी श्रेष्ठले सम्मान गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार