शहीद परिवारको अल्टिमेटम: १५ दिनभित्र माग पूरा नगरे सडकमा आन्दोलन

मंगलबार, १८ कार्तिक २०८२

काठमाडौँ : भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका १९ वर्षका श्रीयम चौलागाईंका पिता गणेश चौलागाईंले सरकारले शहीद परिवारको माग तत्काल सम्बोधन गर्नुपर्ने चेतावनी दिएका छन्।

उनले प्रधानमन्त्रीले दुई–तीन महिनाभित्र माग सम्बोधन गर्ने आश्वासन दिएको जानकारी आए पनि त्यसलाई अस्वीकार गर्दै १५ दिनभित्र माग पूरा नगरे सडक आन्दोलनमा उत्रिने घोषणा गरेका छन्।

नेपाल न्यूज बैङ्कसँग कुरा गर्दै चौलागाईंले भने, “दुई–तीन महिना पर्खन सक्ने अवस्था छैन। सरकारले अब १५ दिनभित्र हाम्रो माग सम्बोधन गर्नुपर्छ।

धेरैजसो शहीद परिवारहरू अत्यन्तै कठिन परिस्थितिमा छन्—कसैको घरमा सुत्केरी छ, कोही बुढाबुढी मात्रै छन्, कोही बेलुकीको खाने परिवार हुन्।”

शहीद परिवारको मुख्य मागहरूमा प्रत्येक परिवारका सदस्यलाई स्थायी रोजगारीको व्यवस्था, बालबालिकालाई उच्च शिक्षासम्म निःशुल्क पढाइको सुविधा, स्वास्थ्य उपचारमा आजीवन निःशुल्क सेवा, र शहीद स्मृति पार्क निर्माण लगायत संरचनात्मक योजनाहरू कार्यान्वयन गर्नुपर्ने कुरा छन्।

चौलागाईंले भने, “क्षतिपूर्ति १५ लाख दिइयो, सम्मानपूर्वक अन्त्येष्टि गरियो, आधा झण्डा झुकाइयो। यी कुरा राम्रो भए पनि मुख्य मागहरू अधुरै छन्।

अब कुनै व्यक्तिगत स्वार्थ वा पदलोभका लागि लड्ने समय होइन, सबै शहीद परिवार एक ढिक्का भएर सरकारसँग दबाब दिनुपर्छ।”

उहाँले आर्थिक फन्डको पारदर्शिताबारे पनि प्रश्न उठाउँदै भने, “शहीद परिवारको नाममा आएको पैसाको स्पष्ट विवरण हुनुपर्छ। कुनै एक जनाको साइनले सरकारसँग वार्ता गरेर परिवारलाई भुल्याउने काम स्वीकार्य छैन।”

चौलागाईंले सरकार र सम्बन्धित निकायलाई आधिकारिक प्रतिनिधित्वको स्पष्टता कायम गर्न आग्रह गर्दै भने, “जो व्यक्ति अध्यक्षको हैसियतमा माग लिएर जान्छ, ऊ कुन तहको शहीद परिवार हो भनेर सरकारले बुझ्नुपर्छ।”

उनी दाबी गर्छन्, “यो सरकार हाम्रो रगतले बनेको हो। शहीद परिवारको साधारण माग पूरा गर्न दुई–तीन महिना पर्खाइ दिनु अन्याय हो।”

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार