धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

शुक्रबार, २१ कार्तिक २०८२

घोडाघोडी : सरकारको समर्थन मूल्यमा धान बिक्री गर्न पाउने आशाले कैलालीका किसान उत्साहित भए पनि खरिद केन्द्रमा भीड बढेसँगै उनीहरूको उत्साह अहिले निराशामा बदलिएको छ । घोडाघोडी नगरपालिका–३ निम्दीका किसान स्वरूप चौधरीलाई धान बेच्न चार दिन लाग्यो ।

शनिबार बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको भजनी उपकेन्द्रमा पुगेका चौधरीले सो दिन पालो नपाएपछि लगातार चार दिन लाइनमा बसेर मात्रै धान बेच्न सफल भए । भजनी–४ का अर्का किसान राजकुमार चौधरीले पनि उस्तै समस्या व्यहोर्नुपरेको बताए । कतिपय किसान बिहानदेखि बेलुकीसम्म पर्खेर पनि पालो नआएपछि घर फर्किन्छन्, कति भने रातभरै केन्द्र अगाडि बस्छन् ।

“तीन दिन भयो घर फर्किएको छैन,” घोडाघोडीका किसान विष्णु चौधरी भन्छन्, “धान बेच्न यति दुःख कहिल्यै भएको थिएन । बिहानदेखि बेलुकीसम्म लाइनमा बस्दा पालो आउँदैन, रातमा डल्लफ र धानको सुरक्षा गर्न यही बस्नुपर्छ ।”

यस वर्ष सरकारले मोटो धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४६३ रुपैयाँ तोकेको छ । बजारमा व्यापारीले कम मूल्य दिने भएकाले किसान सरकारी मूल्यमा बेच्न केन्द्रमा लामबद्ध भएका हुन् ।

भजनी उपकेन्द्रका कर्मचारी भीमबहादुर बुढाका अनुसार कात्तिक ११ गते सूचना जारी भए पनि मौसमका कारण कात्तिक १६ गतेदेखि मात्रै खरिद सुरु गरिएको हो । हाल प्रतिकिसान ५० क्विन्टलसम्म धान खरिद भइरहेको छ । “धान काट्ने एक मात्र काटा भएकाले ढिलाइ भएको हो,” उनले भने, “नगरपालिकासँग समन्वय गरेर अर्को काटा थप्ने तयारी भइरहेको छ ।”

कैलालीको मुख्य आयस्रोत धान हो । किसानका लागि धान बेच्न पाउनु केवल व्यापार होइन, जीविकोपार्जनको आधार हो । तर पालो नपाउँदा उनीहरू आर्थिक समस्यामा परेका छन् । घोडाघोडीकी रमिता चौधरी भन्छिन्, “धान बेचेपछि तिरौला भनेर सापटी मागी घर खर्च चलाएको छु । लाइनमा बसेको दुई दिन भयो, खै कहिले पालो आउँछ।”

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभरका पकेट क्षेत्रलाई आधार मानी १३ खरिद केन्द्र सञ्चालन गरिरहेको छ । सुदूरपश्चिम प्रमुख दीपक थापाका अनुसार कैलालीमा मात्रै भजनी, मोहनपुर, सत्ती, गौरीगङ्गा, जोशीपुर र टीकापुर गरी छ वटा उपकेन्द्रबाट धान खरिद भइरहेको छ ।

“कैलालीमा ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य छ,” थापाले भने, “हिजोसम्म ९ हजार क्विन्टलभन्दा बढी खरिद भइसकेको छ । किसानहरू अन्यत्र कम मूल्य पाउने भएकाले केन्द्रमा भीड छ ।”

उनका अनुसार जनशक्ति र पूर्वाधार अभाव पनि ठूलो चुनौती बनेको छ । “चार जना स्थायी कर्मचारी र केही अस्थायी जनशक्ति मात्र छन्,” उनले भने, “यसपटक रकम किसानको खातामा नै हाल्ने व्यवस्था भएकाले कागजात मिलानमा पनि समय लाग्ने भएको छ ।”

भीड व्यवस्थापनका लागि धान खरिद समय पनि बढाइएको छ । “साधारणतया बिहान १० बजेदेखि ४ बजेसम्म खरिद हुन्छ,” थापाले भने, “तर अहिले बिहान ८ बजेदेखि बेलुका ९ बजेसम्म धान खरिद भइरहेको छ ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार