बागलुङ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैभन्दा ठूलो धर्म मानव सेवा हो भन्दै धर्मसँग मानवीय सेवालाई जोडेर हेर्नुपर्ने बताएका छन्।
मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि शुक्रबारदेखि बागलुङमा सुरु भएको श्रीमद्भागवत ज्ञान महायज्ञको उद्घाटन गर्दै अध्यक्ष ढकालले भने, “सबैभन्दा ठूलो धर्म भनेको मानव सेवा हो, यसलाई मानव धर्म पनि भनिन्छ। त्यसैले मानवीय भावनालाई धर्मसँग जोडेर हेर्नुपर्छ।”
उनले वैदिक सनातन धर्मको दृष्टिले गण्डक क्षेत्र महत्वपूर्ण रहेको बताउँदै पछिल्ला वर्षहरूमा धार्मिक गतिविधि बढ्दै गएको र यसलाई अझ प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याए। “बागलुङ धार्मिक पवित्र भूमि हो, यही स्वरुपमा यसलाई चिनाउन आवश्यक छ,” उनले भने।
ढकालले मुक्तिनाथ र दामोदर कुण्डको काखमा रहेको पवित्र कालीगण्डकी तटमा मानवताको मन्दिर निर्माण सुरु हुनु हर्षको विषय भएको बताए। “मेरो जन्मस्थानमा निर्माण हुन लागेको यस आश्रमको भवनका लागि व्यक्तिगत र संस्थागत रूपमा सहभागी हुनेछु,” उनले प्रतिबद्धता जनाए।
विश्वभरका हिन्दू धर्मावलम्बीहरूको आस्थाका केन्द्रहरू मुक्तिनाथ, दामोदर कुण्ड, गलेश्वर, बागलुङ कालिका, मोदीवेणी धाम र जैमिनी ऋषिले तपस्या गरेको जैमिनीघाट जस्ता तीर्थस्थलहरूको प्रचार–प्रसार गरी धार्मिक पर्यटनलाई प्रोत्साहन गर्नुपर्ने उनले उल्लेख गरे।
अध्यक्ष ढकालले मानव सेवा आश्रमले देशभर सञ्चालन गर्दै आएको सडक मानव मुक्त अभियानको प्रशंसा गर्दै कालीगण्डकी तटमा मानवताको मन्दिर निर्माणले मानवताका मूल्य र मान्यतालाई अझ सुदृढ बनाउने बताए। साथै उनले मानव सेवामा समर्पित अभियन्ताहरूप्रति सम्मान प्रकट गर्दै मानवीय भावनामा सबैलाई प्रेरित हुने काम यस अभियानले गर्ने विश्वास व्यक्त गरे।
प्रतिक्रिया