तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान

मंगलबार, २५ कार्तिक २०८२

टक्सार : पहाडी जिल्ला भोजपुरमा नेपाल वायुसेवा निगमले उडान थप गरेको छ । विगतमा हप्तामा दुई उडान मात्र भोजपुर–काठमाडौँ हुँदै आएकामा अब चार उडान हुनेछन् । 

प्राविधिक कारणले केही समयका लागि कटौती गरिएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको काठमाडौँ–भोजपुर–काठमाडौँ उडान तालिका थप भएको निगमका भोजपुर स्टेसन प्रमुख प्रकाश खड्काले जानकारी दिए । उनका अनुसार यही कात्तिक २६ गतेदेखि लागू हुनेगरी अब मङ्गलवार, बुधबार, बिहीबार र शनिबार नियमित उडान सञ्चालन गरिनेछ । यसभन्दा अगाडि बिहीबार र शनिबार मात्र उडान हुँदै आइरहेको थियो । 

मर्मतमा रहेको अर्को जहाज पनि सञ्चालनमा आएसँगै भोजपुरमा पनि उडान थप गरिएको छ । निगमले यात्रुहरूलाई आफ्नो यात्रा सुनिश्चित गर्नका लागि आधिकारिक ‘वेबसाइट’मार्फत ‘अनलाइन टिकट’ खरिद गर्न सकिने व्यवस्थासमेत गर्दै आइरहेको छ ।

यहाँ यातायातका साधन सञ्चालनमा आएसँगै भोजपुर–विराटनगरको उडान भने बन्द भएको छ । वि.सं २०३५ मा घाँसेमैदानबाट सुरु भएको उडान अहिले विमानस्थल कालोपत्र भए पनि निगमको जहाजले मात्र उडान गर्दै आइरहेको छ । उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने र आउने यात्रु मारमा पर्दै आइरहेका छन् । 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार