झापामा चार महिनामा सवारी दुर्घटनाका कारण १७ जनाको मृत्यु

आइतबार, ३० कार्तिक २०८२

बनियानी: पछिल्लो चार महिनामा यहाँ सवारी दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।

ती दुर्घटनामा परी २९ जना गम्भीर घाइते भएका छन् भने छ सय ७० जना सामान्य घाइते भएका छन् । असोजमा सबैभन्दा बढी छ जनाको मृत्यु भएको बताउँदै प्रमुख प्रहरी निरीक्षक राईले साउनमा तीन, भदौमा चार र कात्तिकको चार जनाको मृत्यु भएको जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अधिकांश घटनामा दुईपाङ्ग्रे सवारीसाधन संलग्न छन् । प्रमुख प्रहरी निरीक्षक राईका अनुसार तीन सय ४५ दुर्घटनामा सवारीसाधनको सङ्ख्या भने चार सय ८८ छन् ।

तीमध्ये दुईपाङ्ग्रे तीन सय २६, चारपाङ्ग्रे ९३, मझौला ३४, ठूला ३२ र पहिचान हुन नसकेका तीनवटा सवारीसाधन रहेका उहाँले जानकारी दिनुभयो । सोही अवधिमा कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने छ हजार १०५ वटा सवारीसाधनलाई कारबाही गरेको छ ।

कार्यालयले साउनमा दुई हजार ५६४, भदौमा एक हजार ९२७, असोजमा दुई सय ७१ र कात्तिकको हालसम्म एक हजार ३४३ वटा सवारीसाधनलाई कारबाही गरेको हो । सोबापत कार्यालयले रु ५९ लाख ८१ हजार ५३३ राजस्व सङ्कलन गरेको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार