एनपीएलका चौकासँगै शिक्षा पहुँच बढाउने एनसेल फाउन्डेसनको अभियान

आइतबार, ३० कार्तिक २०८२

एनसेल फाउन्डेसनले यस वर्ष पनि आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ का खेलमा हानिने प्रत्येक चौकाबापत ग्रामीण तथा दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका छात्र–छात्रालाई ४ वटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको छ।

गत वर्षको साझेदारी प्रभावकारी भएपछि फाउन्डेसनले यस अभियानलाई निरन्तरता दिएको हो। एनपीएल सिजन–१ का खेलमा ६५३ चौका प्रहार भएका थिए, जसअनुसार २,६१२ विद्यार्थी प्रत्यक्ष लाभान्वित भए। एनसेलले अहिलेसम्म देशभरका ९ हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिसकेको छ।

फाउन्डेसनका अनुसार यस अभियानले ‘क्रिकेटदेखि कक्षा कोठासम्म’ शिक्षा प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। विद्यार्थीलाई उपलब्ध गराइने प्रत्येक सेटमा स्कुल ब्याग, कापी, पेन्सिल, इरेजर, कटरलगायत आवश्यक स्टेशनरी सामग्री रहनेछन्, जसले स्रोत अभावमा रहेका विद्यालयका बालबालिकालाई नियमित पठनपाठनमा सहयोग पुर्‍याउनेछ।

एनसेलकी कर्पोरेट कम्युनिकेशन तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले क्रिकेटले समाजलाई जोड्ने खेल भएकाले खेलमार्फत शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुर्‍याउन पाउनु गर्वको विषय भएको बताइन्। “खेलमा मारिएका प्रत्येक चौका विद्यार्थीका लागि अवसर र उज्ज्वल भविष्यको प्रतीक बन्नेछ,” उनले भनिन्।

शैक्षिक सामग्री नेपाल क्रिकेट संघ (क्यान), स्थानीय तह र कार्यान्वयन साझेदारको समन्वयमा वितरण गरिने एनसेलले जनाएको छ। कम्पनीका अनुसार क्रिकेट मैदानको उत्साह कक्षाकोठासम्म पुर्‍याउँदै सिकाइमा सुधार ल्याउने नै अभियानको मूल लक्ष्य हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार