नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका पूर्वमेयर शिवाकोटीसहित तीन जना पार्टीबाट निष्कासित

विहीबार, ०४ मंसिर २०८२

झापा : आफ्नै घरमा काम गर्न राखिएकी नावालिकामाथि बलात्कार गरेको आरोप सार्वजनिक भएपछि नेकपा एमाले कोशी प्रदेश कमिटीले बिर्तामोड नगरपालिका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई साधारण सदस्यतासहित पार्टीबाटै निष्कासन गरेको छ।

कोशी प्रदेश कमिटीको बैठकले शिवाकोटीका साथै इटहरी उपमहानगरपालिकाका पूर्वमेयर तथा प्रदेश कमिटी सदस्य द्वारिकालाल चौधरी र प्रदेश कमिटीका सल्लाहकार मनोरथ तिवारीलाई समेत पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो। 

त्यस्तै प्रदेश कमिटीका काशीनाथ दंगाल र डा. बद्री विशाल पोख्रेललाई स्पष्टीकरण सोधिने निर्णय गरिएको छ।

प्रदेश कमिटीका सचिव राजकुमार भण्डारीका अनुसार तीनै जनालाई ‘साधारण सदस्यता समेत नरहने गरी’ कारबाही गरिएको हो।

नावालिकामाथि बलात्कारको आरोपमा पक्राउ परेका शिवाकोटी केही महिना अघि धरौटीमा रिहा भएका थिए। मुद्दा अदालतमा विचाराधीन छ। उनी प्रहरी हिरासतमा नबसिकन बीएन्डसी अस्पतालमा बसेको र नेतृत्वले संरक्षण गरेको आरोप राजनीतिक वृत्तमा उठ्दै आएको थियो।

शिवाकोटी २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट बिर्तामोड नगरप्रमुखमा विजयी भएका थिए। त्यस्तै इटहरीका पूर्वमेयर चौधरी पनि सोही वर्ष मेयरमा निर्वाचित भएका थिए।

२०७९ को निर्वाचनमा पुनः मेयर बन्ने इच्छुक चौधरीलाई एमालेले टिकट नदिएपछि उनले नेकपा माओवादी केन्द्र रोजे। माओवादीबाट सुनसरी–२९१० मा प्रदेश सभा सदस्यका उम्मेदवार बनेका उनी रेवती रमण भण्डारीसँग पराजित भए। पराजयपछि एमालेमा फर्किए पनि उनी लामो समयदेखि पार्टी गतिविधिबाट टाढा थिए र स्थानीय नेतृत्वविरुद्ध खुल्ला असन्तुष्टि पोख्दै आएका थिए।

यसैगरी पार्टीबाट निष्कासित गरिएको अर्को नाम मनोरथ तिवारी हो, जो भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाट घटनामा संलग्न रहेको प्रदेश कमिटी सचिव भण्डारीले जानकारी दिए।

उता, स्पष्टीकरण सोधिएका काशीनाथ दंगाल पूर्व नेकपा एकीकृत कालमा एमाले इटहरी नगर कमिटीका सचिव थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार