काठमाडौं : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालमा ग्राहक सेवा सञ्जाल विस्तार गर्ने क्रममा हेटौँडा, दमौली र बिर्तामोडमा तीन नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। मंसिर २६, २७ र २९ गते क्रमशः उद्घाटन भएका यी सर्भिस सेन्टरमार्फत शाओमी प्रयोगकर्तालाई छिटो, भरपर्दो र विश्वासयोग्य सेवा प्रदान गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
नयाँ सर्भिस सेन्टरहरूबाट शाओमीका स्मार्टफोन, वेअरेबल्स (स्मार्टवाच, फिटनेस ब्यान्ड) तथा हियरेबल्स (इयरफोन/हेडफोन) लगायतका उपकरणहरूको मर्मत, प्राविधिक सहयोग र परामर्श सेवा उपलब्ध हुनेछ। सबै केन्द्रमा जेनुइन स्पेयर पार्ट्स र आधिकारिक मर्मत प्रक्रिया अपनाइने भएकाले ग्राहकले गुणस्तरीय र दीर्घकालीन सुरक्षित सेवा पाउने कम्पनीको दाबी छ।
यी सर्भिस सेन्टरहरू रमेश कर्पअन्तर्गत टेलिडाइरेक्ट प्रा. लि. द्वारा सञ्चालन गरिनेछन्। टेलिडाइरेक्ट शाओमी ब्रान्डका लागि नेपालभर आधिकारिक वितरक तथा सेवा प्रदायकका रूपमा लामो समयदेखि क्रियाशील रहेको अनुभवी कम्पनी हो।
सर्भिस सेन्टर सञ्चालनको अवसरमा हेटौँडा, दमौली र बिर्तामोडका ग्राहकलाई उद्घाटन मितिदेखि एक महिनासम्म विशेष सुविधा उपलब्ध गराइने घोषणा गरिएको छ। यस अवधिमा सबै उपकरणको निःशुल्क सर्भिसिङ र सफ्टवेयर अपग्रेड, वारेन्टीबाहिरका स्पेयर पार्ट्स तथा मर्मत सेवामा २५ प्रतिशतसम्म छुट र वारेन्टीबाहिरका स्पेयर पार्ट्समा सर्भिस शुल्क नलाग्ने सुविधा प्रदान गरिनेछ।
यस अवसरमा शाओमी नेपालका प्रतिनिधिले हेटौँडा, दमौली र बिर्तामोडमा एकैसाथ आधिकारिक सर्भिस सेन्टर सञ्चालन गर्न पाउँदा खुशी व्यक्त गर्दै टेलिडाइरेक्टसँगको सहकार्यले सेवा गुणस्तर र पहुँच अझ मजबुत हुने विश्वास व्यक्त गरे।
शाओमी नेपालका अनुसार यी सर्भिस सेन्टरहरूमा दक्ष प्राविधिकहरू नियुक्त गरिएका छन्, जसले सामान्य समस्या समाधानदेखि जटिल प्राविधिक मर्मतसम्म कम्पनीका आधिकारिक मापदण्डअनुसार सेवा प्रदान गर्नेछन्। ग्राहकहरूले आवश्यक सल्लाह, मर्मत तथा सेवा सुविधाका लागि नजिकैको सर्भिस सेन्टरमा सम्पर्क गर्न सक्नेछन्।
प्रतिक्रिया