पाँचथर : भदौ महिनामा भएको जेन्जी आन्दोलन र कात्तिकमा भएको अविरल वर्षा पश्चात गएको बाढी पहिरोको विध्वंसले सुस्ताएको फालेलुङका उच्च पहाडी क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । समुद्री सतहदेखि तीन हजार पाँचसय मिटर भन्दा उचाईमा रहेका तीनसिमाना,फालौट,चारराते,इलाम पाँचथरको सिमावर्ती सन्दकपुर र थोकुम लगायतका क्षेत्रमा आन्तरिकसँगै बाह्य पर्यटकको चहलपहल बढेको हो ।
पदयात्रा र चौंरी गाईका प्रजातीको अवलोकनसँगै हिँउले सेताम्य भएका हिमाल र डाँडाकाँडाको दृश्यावलोकनका लागि उपर्युक्त यी स्थानमा यतिखेर नेपालसँगै भारतको पञ्जाव,वेष्ट बंगाल र भुटानसम्मका पर्यटक आउन थालेको फालेलुङका पर्यटन व्यवसायी चन्द्रलाल नेपालब बताँउछन ।
यी क्षेत्रबाट कञ्चनजंघा,कुम्भकर्ण,सगरमाथा र मकालु सहित सिक्किम र भुटान सम्मका दर्जन बढि हिमश्रृंखलाको एकसाथ अवलोकन गर्न सकिन्छ । यसैविच कात्तिक अन्तिम सातादेखि मौसम खुल्नका साथै यहा पुग्ने बाटो मर्मत र होम स्टे तथा गोठ स्टेहरुले सेवा दिन थालेसगै पर्यटकको चहलपहल बढेको चाररातेका होम स्टे सञ्चालक डिल्ली केरुङले जानकारी गराए ।
उच्च पहाडी क्षेत्रमा पुग्ने पर्यटकका लागि तीनसिमाना क्षेत्रमा नेपालीले सञ्चालन गरेका चारवटा गोठस्टे र भारततर्फको एउटा लज सञ्चालनमा छन । ती मध्ये नेपाल तर्फका गोठ स्टेमा मात्रै कम्तिमा एकसय पर्यटकले सेवा लिन सक्छन । यो वर्ष भदौ देखि कात्तिकसम्म शुन्य जस्तो रहेको तीनसिमाना र फालौट क्षेत्रमा कात्तिक २२ देखि पर्यटकको संख्या ह्वात्तै बढेको छ ।
पदयात्रा र हिमालको अवलोकनसँगै यो क्षेत्रमा पाइने दुर्लभ रेड पाण्डा सहितका बन्यजन्तुले पनि पर्यटकहरुलाई आकर्षित गर्ने गरेका छन् । सन्दकपुर र चारराते क्षेत्रमा आजकल दैनिक दुई सय हाराहारी आन्तरिक र वाह्य पर्यटक पुग्न थालेको सन्दकपुरका होटल व्यवसायी रिञ्जी सेर्पाले बताए ।
विशेष गरी सन्दकपुरमा सुर्याेदय र सुर्योस्त हेर्न आउनेहरु बाक्लो संख्यामा भेटिन्छन । केहि वर्ष अघिसम्म भारत तर्फ धेरै सुविधा भएपनि नेपाल तर्फबाट पुग्न कठिन थियो । पछिल्ला वर्ष मोटरबाटो खनिएपछि सहज हुन पुगेको छ । बाटोको पहुँच बढसंगै मोटर साइकल र चार पाङ्ग्रे सवारी लिएर आउनेहरुको संख्यामा बृद्वी भएको छ । पर्यटकको चहल पहल हुने यी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न फालेलुङ गाउँपालिकाले विभिन्न कृयाकलाप सञ्चालन गर्दै आएको छ ।
पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न गाउँपालिकाकै लगानीमा वर्षेनी दुईवटा महोत्सव आयोजना गरिने गरेको छ । चारराते क्षेत्रमा आयोजना हुने चौंरी पर्यटन र थाप्लीटारमा हुने फालेलुुङ महोत्सव हेर्न देश विदेशबाट हजारौं संख्यामा आन्तरिक र वाह्य पर्यटक आइपुग्छन ।
पर्यटन प्रर्वधनका लागि भौतिक पुर्वाधार र सडक निर्माण तथा मर्मत गर्न पालिकाले वर्षेनी बजेट विनियोजन गरेर कार्यन्वयनमा ल्याउदै आएको गाउँपालिका अध्यक्ष बीरविक्रम थाम्सुहाङ बताँउछन ।
प्रतिक्रिया