नेकपा एमाले झापाले वर्तमान सरकारका असंवैधानिक गतिविधिविरुद्ध खबरदारी कार्यक्रम घोषणा गरेको छ। बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमार्फत सो कार्यक्रमको घोषणा गरिएको हो।
पत्रकार सम्मेलनमा एमाले झापाका अध्यक्ष प्रेम गिरीले सरकारको असंवैधानिक हर्कतको जवाफ दिन खबरदारी कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए। उनले लोकतान्त्रिक शक्तिहरूलाई समेत उक्त कार्यक्रममार्फत एकजुट भई सरकारविरुद्ध आवाज उठाउन आग्रह गरे। अध्यक्ष गिरीका अनुसार पुस १० गते बिर्तामोड र दमकमा एकसाथ खबरदारी कार्यक्रम गर्ने तयारी भइरहेको छ।
वर्तमान सरकारले ‘अध्याँरो कोठामा बसेर षड्यन्त्र गरेको’ आरोप लगाउँदै अध्यक्ष गिरीले नेकपा एमालेले त्यसको भण्डाफोर गर्दै जनतालाई सचेत गराउने उद्देश्यले खबरदारी कार्यक्रम गर्न लागेको बताए। उनले प्रतिगामी तत्वहरूको षड्यन्त्रप्रति मुकदर्शक भएर बस्न नसकिने स्पष्ट पारे। पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका नेताहरूमाथि विभिन्न बहानामा षड्यन्त्र र आक्रमणको प्रयास भइरहेको दाबी पनि उनले गरे।
अध्यक्ष गिरीले अब लोकतान्त्रिक शक्तिहरू सरकारका सबै प्रकारका षड्यन्त्रविरुद्ध सडकमा उत्रिनुपर्ने अवस्था आएको धारणा राखे। पार्टीले पालिका, वडा र टोलस्तरसम्म सुरक्षा समिति परिचालन गर्ने, कसैमाथि आक्रमण नगर्ने तर वर्तमान प्रतिगामी सत्ता तथा विदेशी दलालहरूबाट हुन सक्ने हुलहुज्जतको प्रतिरक्षा गर्न गाउँ–गाउँ र बस्ती–बस्तीमा सचेत र तयार रहन अपिल गरेको छ।
पत्रकार सम्मेलनमा पार्टीले खबरदारी कार्यक्रमसँगै विविध प्रदर्शनका थप कार्यक्रमहरू क्रमागत रूपमा आयोजना गर्दै जाने जानकारी पनि दिएको छ। जारी विज्ञप्तिमा गत भदौ २४ गते भएको देशव्यापी विध्वंस आकस्मिक नभई देशी तथा विदेशी शक्तिहरूको लामो योजना र षड्यन्त्रको परिणाम भएको दाबी गरिएको छ।
प्रतिक्रिया