एजेन्सी । अन्तत: अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मन ( पिएसजी) बसाइको अन्त्य गरेका छन् । आफ्नो २ वर्षे सम्झौताको म्याद सकिएपछि मेस्सीले यही समरमा पेरिस सेन्ट जर्मेन छाडेका हुन् ।
''म यी दुई वर्षको लागि क्लब, पेरिस शहर र यसका जनतालाई धन्यवाद दिन चाहन्छु,'' उनले भने। ''म तपाईलाई भविष्यको लागि शुभकामना दिन्छु।''
''म पिएसजीको प्रतिनिधित्व गर्न सक्षम भएकोमा खुसी छु मलाई यो टोलीमा र त्यस्ता राम्रा खेलाडीहरूसँग खेल्न साँच्चै आनन्द लाग्यो। म पेरिसमा अद्भुत अनुभवको लागि क्लबलाई धन्यवाद दिन चाहन्छु'' मेस्सीले भनेका छन् ।
शनिबार लिग वानमा क्लिरमोन्ट फुटविरुद्ध मेस्सी पीएसजीबाट अन्तिमपटक मैदान उत्रिएका थिए । जुन खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले हार बेहोर्यो । पिएसजीबाट बिदा भएसँगै मेस्सीको केही ठुला युरोपियन क्लबहरुसँग नाम जोडिएको छ । विभिन्न क्लबसँग नाम जोडिए पनि पूर्व क्लब बार्सिलोना फर्किने खवरले निकै चर्चा पाइरहेको छ । अर्को तिर साउदी क्लब अल–हिलालसँग पनि मेस्सीको नाम जोडिएको छ ।
विश्व चर्चित फ्रान्सेली समाचार संस्था एएफपीले गत महिना नै मेस्सीले ५ सय २२ मिलियन पाउन्डमा अल–हिलाल क्लबसँग सम्झौता गरेको दाबी गरेको थियो । वार्षिक ५२२ मिलियन पाउन्ड अर्थात् ८६ अर्ब रुपैयाँभन्दा बढी रकममा मेस्सी अल–हिलाल गए उनी रोनाल्डोभन्दा दोब्बर रकम कमाउने खेलाडी हुनेछन् ।
तर मेस्सीले हालसम्म आफ्नो भविष्यका विषयमा कुनै निर्णय लिएका छैनन् । मेस्सीलाई इङ्लिस क्लब म्यान्चेस्टर सिटी तथा म्यान्चेस्टर युनाइटेड,चेल्सी साथै इटालियन क्लब युभेन्टस तथा इन्टर मिलानले पनि अनु्बन्ध गर्न चाहेको छ । मेस्सीले २०२१ मा पीएसजीसँग दुई वर्षको सम्झौता गरेका थिए । मेस्सीले पीएसजीका लागि ३२ गोल गरेका छन् ।
प्रतिक्रिया