विराटनगर । उच्च अदालत विराटनगरले प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव वाग्लेलाई निरन्तरता दिएको छ।
अदालतका उप–रजिष्ट्रार मणिराम पोखरेलले सोमबार न्यायाधीश कृष्ण कमल अधिकारी र राजनप्रसाद भट्टराईको संयुक्त इजलासले सदस्यसचिव वाग्लेलाई अल्पकालिन अन्तरिम आदेश जारी गर्दै काम गर्न बाटो खुला गरेको जानकारी दिए।
प्रदेश सरकारले गत जेठ ३ गते सदस्यसचिव वाग्लेलाई पदबाट बर्खास्त गरेको थियो । झापामा आयोजित भलिवल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश नाम नराखिएकोमा आपत्ती जनाउँदै सरकारले सोधेको दुईपटकको स्पस्टिकरणमा चित्तबुझ्दो जवाफ नदेखेपछि पदबाट बर्खास्त गरेको थियो । सोही निर्णय उपर बोर्डका सदस्यसचिव वाग्लेले उच्च अदालतमा निवेदन दिएका थिए ।
यसविषयमा अदालतले जेठ ५ गते अल्पकालिन अन्तरिम आदेशसंगै जेठ २२ गतेका लागि पेशी तोकेको थियो । उप–रजिष्टार पोखरेलले भने, ‘आज अदालतले बोर्ड सदस्य सचिवलाई काम गर्नका लागि बाटो खुला गरिदिएको छ ।
अन्तर प्रदेश राष्ट्रिय भलिबल प्रतियोगिताको लागि संयोजक थलु राजभण्डारीलाई तोकिएको देखिएको अवस्थामा सदस्यसचिवलाई हटाउने गरि भएको निर्णयका सम्बन्धमा पछि ठहरे बमोजिम हुने नै हुदाँ सुविधाको सन्तुलनको आधारमा अन्तिम निर्णय नहुञ्जेलसम्मका लागि अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिइएको फैसला भएको छ ।’
यससंगै सदस्यसचिव वाग्लेले खेलकुद क्षेत्रका लागि न्याय भएको प्रतिक्रिया दिएका छन् । अदालतबाट पाएको आदेशसंगै प्रदेशको खेलकुदलाई थप सक्रिय बनाउनका लागि बोर्डले खेल र खेलकुद गतिविधीलाई प्रगाढ बनाउने वाग्लेले जानकारी दिए।
सदस्यसचिव वाग्लेलाई पदबाट बर्खास्त गरेसंगै गत बैशाख १९ गतेबाट समाजिक विकास मन्त्रालयले बोर्डको बैंकिङ खाता समेत रोक्का गरेको थियो । बैंकिङ खाता भने केहीदिन अघि मन्त्रालयले विभिन्न ६ बुदाँ राखेर सञ्चालनका लागि फुकुवा गरिसकेकोछ ।
बोर्डका सदस्यसचिव वाग्ले २०७८ चैत्र २२ गते पदमा नियूक्त भएका थिए ।
प्रतिक्रिया