वेस्टह्यामले जित्यो युरोपा कन्फरेन्स लिगको उपाधि

विहीबार, २५ जेठ २०८०
युरोपा कन्फरेन्स लिगको उपाधि इंग्लिस क्लब वेस्टह्यामले जितेको छ । वेस्टह्यामले फाइनलमा इटालीको फियोरेन्टिनालाई २ - १ गोलले पराजित गरेको हो । योसँगै प्रिमियर लिग क्लबले ४३ वर्ष देखिको उपाधि खडेरी तोडेको छ । चेक रिपब्लिकको प्रागस्थित फोर्चुना एरिनामा गएराति भएको खेलको प्रतिस्पर्धात्मक र रोमाञ्चक पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवैले पाएका अवसरको सदुपयोग गर्न सकेनन् । ६२ औं मिनेटमा वेस्टहयामले डेडलक तोड्यो । उसका लागि साइद बेनराहमाले पेनाल्टीमा गोल गरेका थिए । क्रिस्टियानो बिराघीले डि बक्स भित्र हातले बल छोएको भन्दै वेस्टह्यामले लामो अपिल गरेको थियो । भीएआरको प्रयोगमार्फत रेफ्रीले पेनाल्टी प्रदान गरे । ६७ औँ मिनेटमा फियोरेन्टिनाका जाकोमो बोना भिन्तुराले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा पुग्ने अनुमान गरिएको थियो । तर अन्तिम मिनेटमा जेरोड बोवेनले गोल गेरपछि वेस्टह्याम २ - १ को रोमाञ्चक जितका साथ दोस्रो संस्करणको युरोपा कन्फरेन्स लिग च्याम्पियन बन्यो । डेविड मोयसको टोली वेस्टह्याम अपराजित रहदै विजेता बनेको हो । प्रिमियर लिगमा १४ औँ स्थानमा रहेको वेस्टह्याम अर्को सिजनको युरोपा लिगका लागि पनि छनोट भएको छ । वेस्टह्यामको यो सन् १९८० पछिको पहिलो प्रमुख प्रतियोगिताको उपाधि हो । त्यसबेला उसले एफए कपको उपाधि जितेको थियो । यस्तै पछिल्लो पटक युरोपा लिग सन् १९६५ मा जितेको थियो । प्रशिक्षक मोयसको पनि करियरको यो पहिलो ठूलो उपाधि हो । प्रतियोगितामा सबैभन्दा बढी ३७ गोल गरेको फियोरेन्टिनाले सन् १९६१ पछि युरोपियन प्रतियोगिताको उपाधि जित्ने अवसर गुमायो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार