काठमाडौं । जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप ग्लोबल छनोटमा नेपालले आज (मंगलबार) अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा जिम्बाब्वेसँग ८ विकेटले हारेको नेपाल अमेरिकालाई पराजित गर्दै पुनरागमन गर्ने लक्ष्यमा हुनेछ । सुपर सिक्समा पुग्ने सम्भावना बलियो बनाउन नेपालका लागि स्पष्ट जितको आवश्यकता पर्नेछ ।
नेपाल र अमेरिकाबीचको खेल दिउँसो साढे १२ बजे हरारे क्रिकेट मैदानमा हुनेछ । लिग टू प्रतिद्वन्द्वी अमेरिकाविरुद्ध जित दर्ता गर्दै नेपाल प्रतियोगितामा अंकको खाता खोल्न चाहन्छ । यसअघि पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बाब्वेसँग ८ विकेटले हारेको थियो ।
उक्त खेलमा कुशल भुर्तेलले ९९ र आसिफ शेखले बनाएको ६६ रनको अर्धशतकीय पारीको मद्दतमा नेपालले जिम्बाब्वेलाई दुई सय ९१ रनको लक्ष्य दिएको थियो । उक्त खेलमा ब्याटिङ राम्रो भए पनि बलिङ र फिल्डिङ भने गतिलो हुन नसक्दा नेपाल पराजित हुन पुगेको हो । खेलमा पुनरागमन गर्ने हो भने नेपालले बलिङ र फिल्डिङमा सुधार गर्न आवश्यक छ ।
यता अमेरिकाले पनि आफ्नो पहिलो खेलमा वेस्टइन्डिजसँग ३९ रनको पराजय ब्येहोरेको थियो । नेपाल र अमेरिकाबीच यसअघि यो फर्म्याटमा आईसीसी लिग टू अन्तर्गत अमेरिकाको टेक्ससमा भेट भएको थियो । जसमा अमेरिका ३९ रनले विजयी भएको थियो । पछिल्ला पाँच भेटमा दुई खेल नेपालले जित्दा अमेरिका दुई खेलमा विजयी भएको छ भने एक खेल नो रिजल्टमा दर्ज भएको छ ।
प्रशिक्षक मोन्टी देसाईले नेतृत्व सम्हालेपछि नेपालले पहिलो पटक अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो । यता रोहित पौडेलको पनि कप्तानका रुपमा अमेरिकाविरुद्ध पहिलो खेल हो ।
प्रतिक्रिया