काठमाडौँ–नेपालले आइसिसी टी–२० विश्वकप एसिया फाइनल छनोटमा ओमानविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज ९ बजे सुरु हुने खेलमा टस जितेर नेपालले बलिङ गर्ने निर्णय गरेको हो ।
बलिङ रोज्दै नेपालका कप्तान रोहित पौडेलले ओमानलाई ब्याटिङको निम्तो दिनुभयो ।
समूहगत चरणको अन्तिम खेल अगाडि नै समूह ‘ए’बाट नेपाल र ओमान सेमिफाइनलमा पुगेका छन् । आजको खेलबाट समूह विजेता बन्ने नेपालको लक्ष्य छ । छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।ओमानले पनि पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले पराजित गरेको थियो ।
कीर्तिपुर र मूलपानी मैदानमा हुने प्रतियोगिताको समूह ‘ए’मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन्। यस्तै समूह ‘बी’मा हङकङ, यूएई, बहराइन र कुवेत छन्।
समूह एका विजेताले समूह बी को उपविजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ ।
फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने टीट्वेन्टी विश्वकप खेल्न पाउनेछ।
नेपालको प्लेइङ ११:
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा
प्रतिक्रिया