फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिकाबीच हुने प्राविधिक संयोजक भगिरथ आले मामाले बताए ।
अघिल्लो फागुनमा भव्यताका साथ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले यही मंसिर ७ गतेदेखि झापा लिग गर्न लागेको हो । प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुनेछ ।
भद्रपुरको मेची रंगशालामा हुने झापा लिग १८ दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिता फिफा विश्वकपको ढाँचामा खेलाइने अध्यक्ष दिपेश ढिकालले जानकारी दिए ।
झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्ने छन् । गौरीगञ्ज गाउँपालिका भने सहभागी भएन । १५ वटा टिमलाई चारवटा समूहमा विभाजन गरी खेलाइने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
खेल तालिकाअनुसार समूह क मा हल्दिबारी, बिर्तामोड र बुद्धशान्ति रहेका छन् । समूह ख मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह, समूह ग मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह घ मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा रहेका छन् ।
प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर फाइनलका खेल मंसिर १९ र २० गते हुने छन् । सेमिफाइनलका खेल मंसिर २२ गते हुने छन् ।
प्रतिक्रिया