आजको खेलमा कचनकवल गाउँपालिकालाई हराउँदै मेचीनगर स्पष्ट ९ अङ्कका साथ समूह ग को विजेता बनेको हो । मेचीनगरसँग ३–० गोल अन्तरले हारेको कचनकवल लिग चरणबाटै बाहिरिएको छ ।
भद्रपुरले बाह्रदशीलाई २–० गोल अन्तरले हराएको हो । खेलको ३२ औँ मिनेटमा भद्रपुरका उपदेश कामतले गोल गरे । त्यस्तै, खेलको ५६ औँ मिनेटमा नवाङ लिम्बूले गोल गरेका थिए ।
खेलको प्लेयर अफ द म्याच भएका भद्रपुरका कामतले नगद दुई हजार र ट्रफी पाए । आजको दुवै खेलको प्लेयर अफ द म्याचको पुरस्कार गोल्डकपका अध्यक्ष दीपेश ढकाल, कोसी प्रदेशसभा सदस्य मोहन महर्जन, प्रदेशसभाका पूर्व सदस्य वसन्त बानियाँ, सौजन्यकर्ता प्रमीला ओझा, किरण शर्माले प्रदान गरेका थिए ।
फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको फाइनल खेल मङ्सिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
खेल तालिकाअनुसार समूह ‘क’ मा हाल्दिबारी, बिर्तामोड र बुद्धशान्ति रहेका छन् । समूह ‘ख’ मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह, समूह ‘ग’ मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह ‘घ’ मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा रहेका छन् ।
प्रत्येक समूहका विजेता र उपविजेता आठ वटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका खेलहरू क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर फाइनलका खेल मङ्सिर १९ र २० गते हुने छन् । सेमिफाइनलका खेल मङ्सिर २२ गते हुने छन् ।
प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोल किपर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।
प्रतिक्रिया