राष्ट्रपति रनिङ शिल्डका लागि सुरु गरियो तयारी

सोमबार, ०९ पुस २०८०
इलाम पुस / इलाममा जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगिता २०८० को तयारी सुरु गरिएको छ । फागुन पहिलो साताबाट सुरु हुने १४ औँ जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगिताको तयारी सुरु गरिएको हो । जिल्ला खेलकुद विकास समिति इलामको आयोजनाका प्रतियोगिता हुने छ । यस वर्ष प्रतियोगिता माङ्सेबुङ गाउँपालिकामा हुने जनाइएको छ । गएको वर्ष देखी विभिन्न पालिकामा यो प्रतियोगिता गर्न सुरु गरिएको छ । गएको वर्ष फाकफोकथुम गाउँपालिकामा १३ संस्करण सम्पन्न भएको थियो । केन्द्र र प्रदेशबाट प्रतियोगिता आयोजनाको निर्देशन आइसकेको जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईले बताए । उनका अनुसार सधैँ सदरमुकाममा हुने प्रतियोगिता गएको वर्षबाट ग्रामीण क्षेत्रमा गर्न सुरु गरिएकाले चुनौती समेत बढेको छ । सबै कुराको पर्याप्त नभएको ठाउँमा गर्दा केही समस्या आए पनि खेलकुदको विकास गर्न ग्रामीण क्षेत्रमा हुने प्रतियोगिता महत्त्वपूर्ण हुने उनको भनाई छ । विद्यालयबाट नै खेलाडी छनौट गरेर गरिने प्रतियोगिताले सबै खाले खेलाडीलाई प्रोत्साहन समेत हुने गरेको छ । खेलाडी उत्पादन र ग्रामीण क्षेत्रका बालबालिकालाई खेल कौशल सिकाउन प्रतियोगिताले महत्त्वपूर्ण योगदान दिने गरेको छ । जिल्लामा हुने खेलकुद प्रतियोगितालाई विकेन्द्रीकरण गर्न भन्दै गएको सालबाट पालिका छनौट गरेर प्रतियोगिता सञ्चालन गर्ने गरिँदै आइएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गाउँ गाउँमा गर्दा पालिकाले पनि अपनत्व महसुस गर्ने भएकाले पनि गाउँ गाउँमा प्रतियोगिता सञ्चालन गर्न सुरु गरिएको बताइएको छ । प्रतियोगिता आयोजना तयारीका लागि जिल्ला खेलकुद विकास समिति इलामले जिल्ला स्थित पालिका प्रमुखसँगको बैठक सम्पन्न गरिसकेको कार्यालय प्रमुख भट्टराईको भनाई छ । यस पटक भने जिल्ला स्थित दश वटै पालिकाबाट आवश्यक सहयोग प्राप्त हुनेमा विश्वस्त रहेको जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराई बताउँछन् । गाउँपालिकाको २ नम्बर वडामा रहेको मैदानमा यस वर्षको प्रतियोगिता सञ्चालन हुने छ । जिल्लाका दश वटै पालिकाका ८१ वडाबाट नै खेलाडी सहभागिता गराइने बताइएको छ । प्रतियोगिता सञ्चालन गर्न दाताकै भर पर्नु पर्ने बाध्यता रहँदै आएको बताइएको छ । तर विभिन्न पालिकाहरूले पहिला बोलेको जस्तो रकम प्राप्त नभएको कार्यालय प्रमुख भट्टराईको बताए ।  सबै पालिका र सबै वडामा रहेका विद्यालयबाट विद्यार्थी सहभागिता हुने हुँदा सबै पालिकाबाट बराबरी रकम प्राप्त हुनु पर्ने माग समेत गरिँदै आइएको प्रमुख भट्टराईको भनाई छ । गएको वर्ष फाकफोकथुम गाउँपालिकाले माङ्सेबुङ गाउँपालिकालाई झन्डा हस्तान्तरण गरेको थियो । यस वर्ष समेत प्रतियोगिता सम्पन्न पछि कुन पालिकाले गर्ने सोही गाउँपालिकालाई झन्डा हस्तान्तरण हुने जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार