विराटनगरमा अन्तरविद्यालय महिला क्रिकेटको तयारी

मंगलबार, १५ फागुन २०८०
विराटनगर । विराटनगरमा हुने दोस्रो संस्करणको विराटनगर हब अन्तरविद्यालय महिला क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । विराटनगर महानगरपालिका–६ स्थित ज्वाला क्रिकेट मैदानमा फागुन १७ देखि २० गतेसम्म प्रतियोगिता हुने छ । नेपाल क्रिकेट फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । आयोजकले मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । महिला क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता गर्न लागिएको आयोजकको भनाइ छ । क्रिकेट फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठका अनुसार विराटनगरका ६ वटा सामुदायिक विद्यालयको सहभागिता रहने प्रतियोगिता १६ ओभरको हुने छ । कक्षा १० सम्मका विद्यार्थीले सहभागी हुन पाउने प्रतियोगितामा विराटनगरको आदर्श, बालिका, महेन्द्र, सरस्वती, सत्यनारायण र मिल्स माध्यमिक विद्यालयका महिला खेलाडीले भाग लिने उनको भनाइ छ । प्रतियोगिताअन्तर्गत दैनिक ६ वटा खेलहरु सञ्चालन हुने छन् । सबै टिमबीच प्रतिस्पर्धा हुने र लिगका आधारमा प्रतियोगिता गरिने श्रेष्ठ बताउँछन् । लिग चरणमा प्रतियोगिता हुने र अंकका आधारमा शीर्ष दुईवटा टोलीबीच फाइनल प्रतिस्पर्धा हुने जानकारी उनले दिए । एउटा टिमले ५ वटा खेल खेल्न पाउने छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई छात्रवृत्ति प्रदान गर्ने आयोजकको तयारी छ । श्रेष्ठका अनुसार उत्कृष्ट बलर, प्लेयर अफ दी सिरिज, उत्कृष्ट विकेट किपर, उदीयमान खेलाडी र उत्कृष्ट ब्याटरले छात्रवृत्ति पाउने छन् । प्रतियोगिताबाट छनोट भएका १४ जना उत्कृष्ट खेलाडीले सप्तरीको राजविराजमा आगामी चैतमा हुने टी–२० क्रिकेट प्रतियोगितामा खेल्न पाउने श्रेष्ठले बताए । मोरङ जिल्ला क्रिकेट संघसँगको समन्वयमा गत वर्ष पनि प्रतियोगिता आयोजना गरिएको जानकारी उनले दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार