आर्मीलाई हराउँदै एनआरटी सेमिफाइनलमा

आइतबार, २७ फागुन २०८०
धरान - न्युरोड टिम (एनआरटी) सुनसरीको धरानमा जारी २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । आज भएको दोस्रो क्वाटर फाइनलमा विभागीय टिम त्रिभुवन आर्मीलाई २–१ गोलले पराजित गर्दै एनआरटीले सेमिफाइनलमा स्थान बनाएको हो । एनआरटीका लागि शिशिर लेखी र अफिज ओलावालेले समान १–१ गोल गरे । लेखीले खेलको १४ औँ मिनेट र ओलावालेले ६० औँ मिनेटमा गोल गरेका थिए । यस्तै, आर्मीका लागि एकमात्र गोल मानबहादुर आले मगरले खेलको पाचौँ मिनटमा गरेका थिए । आजको खेलको म्यान अफ द म्याच विजयी टिम एनआरटीका शिशिर लेखी घोषित हुँदै १० हजार रुपैयाँ पुरस्कार पाए । भोलि सोमबारको तेस्रो क्वाटर फाइनल खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र मोरङ फुटबल संघले प्रतिस्पर्धा गर्ने भएका छन् । हिजो भएको उद्घाटन खेलमा पाहुना टोली भारतको यूकेएफसीलाई पराजित गर्दै आयोजक धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगितामा नेपालका ७ र एउटा भारतीय गरी ८ टिमको सहभागिता छ । आयोजकका अनुसार प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । उपविजेता टिमले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार