साउन २० गतेसम्म मापदण्ड अनुसार चक्रपथ आसपासका सबै बुकिङ कार्यालय व्यवस्थित गरिसक्ने, साउन १० गतेदेखि बुकिङ कार्यालयहरूको अनुगमन र मापदण्डबारे सचेत गराउनका लागि महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको संयोजकत्वमा महासङ्घका अध्यक्ष र तीनवटै सङ्गठनका अध्यक्षहरू रहेको उच्च स्तरीय कार्यदल गठन भएको छ । त्यस्तै सहमतिमा मापदण्डलाई सबै पक्षले इमानदार कार्यान्वयन गर्न प्रतिबद्ध जनाउने र मापदण्ड पालना नगर्ने कम्पनीहरूलाई साउन २१ गतेदेखि नियमानुसार गर्ने सहमति भएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको समन्वयमा भएको छलफलमा काठमाण्डौं महानगरका प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डे, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसी र नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्मराज भण्डारी लगायतका नेतृत्वको उपस्थिति रहेको थियो ।
महानगरले सरोकारवालासँग समन्वय नगरी असार २७ गते मिडियाबाजी गर्दै माइकिङ गरी काउन्टरहरू हटाउन भनेपछि सङ्गठनहरू रुष्ट बनेको थियो । सङ्गठनहरूले जबरजस्ती गरिए तीनवटै ट्रेड युनियनहरूको अगुवाइमा आन्दोलन हुने चेतावनी दिइएको थियो ।
प्रतिक्रिया