‘वीपीले भारतबाट नेपाल आउनुअघि तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसँग विदा माग्नुभयो । संसदको भवनबाट बाहिर निस्किएपछि पछाडि फर्किएर हेर्दा गान्धी हात हल्लाएर उभिएर बसेकी रहिछन्,’ मञ्जिलले भने, ‘त्यसपछि वीपी कोइराला फर्किएर जानुभो, र भन्नुभो – इन्दिरा म जहिल्यै पनि नेपाल जाँदा तिम्रो बाबा मलाई सधैँ गेटसम्म पु¥याउन आउनुहुन्थ्यो ।’
उनले अहिले नेपालका कुनैपनि प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग त्यति भन्ने क्षमता नराख्ने बताए । ‘त्यसकारण पनि वीपी एक्स्ट्रा अडिनरी हो ।’ उनले भने, ‘वीपीमात्रै यस्ता मान्छे थिए, जो अन्तरष्ट्रिय समाजवादको लिडरका रूपमा संसारभर चिनिएका थिए ।’
विमर्श कार्यक्रममा कवि टीका आत्रेयले वीपी नभएको भए उनले देखेको समाजलाई हामीले पढ्न नपाउने बताइन् । वीपीको लेखन सन्तुलनको रहेको र महिलाहरूको मनोविज्ञानलाई पनि कतै नभड्काइकन लेख्न सक्ने क्षमता रहेको उनले चर्चा गरिन् ।
‘त्यो बेलाको समाज, त्यो बेलाको देश बुझ्नका लागि पनि हामीले वीपीलाई पढ्नुपर्छ,’ उनले भनिन्, ‘समाजलाई मिहिन ढंगबाट वीपीले जनतासामु आफ्ना विचार पस्कन सकेका छन् ।’
लेखनीका माध्यमबाट समाजलाई अगाडि ल्याउनैपर्ने भएका कारण कथाका माध्यमबाट उनले समाजलाई लेखेको र पात्रहरूमाथि अत्यन्तै विचार गरेर अहिलेकोभन्दा पनि विद्रोही कथा लेखिएको आत्रेयले बताइन् ।
नाट्यकर्मी प्रज्वल पराजुलीले वीपीका कथामा सबलता पाइने भएका कारण वीपीका कथालाई नाट्य रूपान्तरण गरी नाटक प्रस्तुत गरिएको बताए ।
उनले यसअघि २०६५ सालमा वीपीकै कथा ‘दोषी चस्मा’लाई नाटकमा देखाइएको स्मरण गरे । एक वर्षअघि मात्रै आफूहरूले वीपीको कथा ‘शत्रु’लाई नाट्य रूपान्तरण गरी नाटक प्रस्तुत गरिएको बताए ।
‘हामीसँग भएका कथालाई नाटकीकरण गरेर ल्याउनुपर्ने बाध्यता छ । हामीले नाटकका लागि सबल कथा छान्नुपर्ने हुन्छ । यसरी हेर्दा वीपीका कथा अत्यन्त सबल छन् ।’ उनले भने ।
प्रतिक्रिया