अभियानका संयोजक एवम् कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले गत वर्ष पनि गरिएको यो अभियान जनप्रिय र प्रभावकारी भएकाले गत वर्ष पुग्न नसकिएका धरानका टोल वस्तीहरूमा पुनः अभियान सञ्चालन गरिएको जानकारी दिए ।
यस अभियानमार्फत जनताको घरघरमा पुगिने हुँदा र जनतासँग साक्षात्कार भई पार्टी र जनताबीचको सम्बन्ध सुदृढ हुनका साथै हरियाली प्रर्वद्धन, सरसफाई र डेङ्गु रोगबारे सचेतना अभिवृद्धिसमेत हुने तामाङले बताए । उनका अनुसार धरानका १, ५, ६, ८, १०, ११, १४, १५, १६, १७, १८ र १९ नं. वडाहरूमा अभियान सञ्चालन गरिने भएको छ ।
घरमै आएर जीवनपयोगी विरुवा, औषधि, जनचेतनामूलक पर्चा वितरण र सडक सरसफाई समेत गरेको भन्दै वडावासीहरूले उक्त कार्य रचनात्मक र प्रशंसा गर्न लायकभएको प्रतिक्रिया दिएका छन् ।
नेपालीकांग्रेस सुनसरीको १ नं. प्रतिनिधिसभा क्षेत्र कार्यसमितिको आयोजना तथा धरान नगर समिति, प्रदेशसभा १ (१) र १ (२) समितिको संयोजन र नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको सहकार्य एवम् सम्बन्धित वडा कार्यसमितिको स्थानीय व्यवस्थापनमा ‘ग्रीन एण्ड क्लीन धरान’ अभियान सञ्चालन गरिएको क्षेत्रीय सहसचिव सुमित राईले बताए ।
प्रतिक्रिया