चुलाचुली गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने सुत्केरी लक्षित कार्यक्रम अन्तरगत मांशाहारी सुत्केरीलाई दुई केजी बराबरको लोकल कुखुराको भाले एउटा, गाईको शुद्ध घ्यू एक केजी, हर्लिक्स आधा केजी र मौसम अनुसारको स्थानीय फलफूल वितरण गर्ने गरेको राईले बताए ।
त्यस्तै शाकाहारी सुत्केरी आमाहरूका लागि गाईको शुद्ध घ्यू दुई केजी, हर्लिक्स एक केजी र मौसम अनुसारको स्थानीय फलफूल वितरण गर्ने गरेको छ ।
परम्परागत अन्धविश्वासले निम्त्याउने समस्या न्यूनीकरण गर्दै सुत्केरी आमा तथा नवजात शिशुको मृत्युदर घटाउन, कुपोषण तथा निमोनिया झाडापखाला लगायत रोगबाट बच्न, स्वास्थ्यकर्मीलाई परिचालन गर्दै स्वास्थ्य समाज निर्माण गर्न कार्यक्रम सुरु गरिएको वडाध्यक्ष राईले बताए ।
चुलाचुली गाउँपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को स्वीकृत नीति तथा कार्यक्रम र बजेट अन्तरगत वडा सिलिङतर्फको बजेटबाट सो वडाले ‘सुरक्षित प्रसूति मातृत्व स्याहार, वडा नं. ५ को पोसिलो आहार’ कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
सङ्घ, प्रदेश र गाउँपालिकाले सञ्चालन गरेका आयोजना, कार्यक्रमका साथमा वडालेसमेत छुट्टै रूपमा विद्यार्थी पुरस्कृत कार्यक्रम, पोसिलो आहार कार्यक्रम जस्ता लोकप्रिय कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
यता इलाम नगरपालिकाले भने गर्भवती महिलालाई अस्पतालसम्म लैजान एम्बुलेन्स उपलब्ध गराउने गरेको छ । पालिकाभित्रका गर्भवती महिलाहरूले इलाम अस्पतालसम्म पुग्न सहज होस भनेर एम्बुलेन्स उपलब्ध गराउने गरिएको नगरपालिकाले जनाएको छ ।
इलाम ४ मा वडा कार्यालयले बसाइँसराई आउने परिवारलाई फूल मालाले स्वागतसमेत गर्ने गरेको छ ।
जिल्लाकै देउमाई नगरपालिकाले पनि सुत्केरीलाई पोषण भत्ता उपलब्ध गराउँदै आएको छ । हरेक बच्चाको जन्म दर्तापछि नगद उपलब्ध गराउने गरिएको नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले बताए ।
सुत्केरी शिशु पोषण व्यवस्थापन कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७९।८० मा नगरभित्रका सुत्केरीलाई पाँच हजारका दरले १५ लाख ६० हजार पोषण भत्ता वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
पछिल्लो समय पहाडी भेगमा बसाइँसराई गरी अन्यत्र जानेको संख्या बढ्दो भएकाले यसलाई रोक्नका लागि विभिन्न कार्यक्रम ल्याइनु सकारात्मक भएको जानकारहरू बताउँछन् ।
प्रतिक्रिया