युवा पुस्ताको लहै लहैमा पाका उमेरका मानिसहरूको समेत सो पुलमा उत्तिकै उपस्थिति रहने गरेको छ ।
कुनै बेला निकै बाक्लो सङ्ख्यामा पर्यटक भित्रिने इलाममा पछिल्लो समय पर्यटकको सङ्ख्या घट्दै गएपछि इलाम नगरपालिकाले पर्यटक भित्र्याउन निकै ठुलो प्रयास गरिरहेको छ ।
इलाम नगरपालिकाकै पहलमा इलाम र देउमाई नगरपालिका जोड्ने ३ सय ६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ ।
करिब ९० प्रतिशत काम पुरा भएको यस पुलमा हाल सयौँको सङ्ख्यामा पर्यटक पुग्न थालेका छन् ।
निकै अग्लो र लामो पुल भएका कारण पनि यहाँ पर्यटकको सङ्ख्या बढेको बताइएको छ । आकर्षक पुल भनेर सामाजिक सञ्जालमा चर्चा पाएपछि पुलमा पुगेको इलाम बजारकी बिनु घिमिरेले बताइन् ।
पुगेपछि निकै आकर्षक पुल भएको महसुस भएको उनको भनाई छ । हरियाली दृश्यावलोकन गर्न चाहानेहरुका लागि एकदमै राम्रो गन्तव्य भएको उनी बताउँछिन् ।
सुन्दर र मनमोहक दृश्यावलोकनका लागि यहाँ पर्यटक पुग्ने गरेका छन् । पुल निर्माणपछि छेउमा नै रहेको धार्मिक क्षेत्र सेतीदेवीको चर्चा समेत बढेको छ ।
प्रसिद्ध सेतीदेवीमा दैनिक श्रद्धालु भक्तजनहरूको भिड समेत लाग्ने गरेको छ ।
लामो पुलबाट दृश्य नियाल्न र सेतीदेवीको दर्शन गर्न इलाम सदरमुकाम सहित जिल्ला बाहिरबाट समेत पर्यटक आउन थालेका छन् ।
यहाँ धेरै पर्यटक पुग्न थालेपछि अस्थायी टहरा निर्माण गरेर स्थानीयले व्यापार समेत गर्न थालेका छन् ।
स्थानीय बुद्धिमान राईले केराका विभिन्न परिकारको स्वाद समेत चखाउन थालेका छन् । उनले केरा सहित स्थानीय परिकारलाई प्राथमिकतामा राखेर स्टलमा सामान राख्न थालेको बताए ।
स्थानीय स्तरमा उत्पादन भएको वस्तुलाई बिक्रीका लागि समेत स्थानीयलाई सहज भएको छ ।
पुल कूल दुई करोड आठ लाख १९ हजार १२० रुपियाँको लागतमा निर्माण गर्ने सम्झौता भएको हो ।
यो पुलको चर्चा बटुल्न र पर्यटकको भिड बढाउन सामाजिक सञ्जालले समेत महत्त्वपूर्ण काम गरेको छ । पुलमा पुगेर सेल्फी सहितका तस्बिर खिच्नकै लागि धेर पर्यटक पुग्ने गरेका छन् ।
यो पुलले इलाममा पर्यटकको सङ्ख्या वृद्धि गर्ने भन्दै सो स्थानसम्म जान सडकको स्तर उन्नति नगरपालिकाले गरिरहेको मेयर केदार थापाले बताए ।
पुल लगायत सेतीदेवी मन्दिरमा जान इलाम सदरमुकामबाट जाने थोरै क्षेत्र मात्र कालोपत्रे गर्न बाँकी रहेको छ ।
यसलाई इलाम नगरपालिकाले प्राथमिकतामा राखेको बताइएको छ ।
प्रतिक्रिया