संविधान दिवसलाई जनतासँग जोड्नुपर्छ : मुख्यमन्त्री कार्की

बुधबार, १२ भदौ २०८१
मोरङ : कोशी प्रदेश सरकारले यसपटकको संविधान दिवस–२०८१ लाई राष्ट्रिय दिवसमा भव्य रूपमा मनाउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (बुधबार) बसेको बैठकले मुख्यमन्त्रीको अध्यक्षतामा ५०१ सदस्यीय प्रदेश मूल समारोह समिति गठन गर्दै यही असोज २, ३ र ४ गते दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसपटकको संविधान दिवस भव्य र सिर्जनात्मक बनाउनेगरी तयारी थालिएको बताए । उनले संविधान दिवसलाई जनतासँग जोड्न सबै जातजाति धर्मसंस्कृति मान्ने सबैको सहभागिता हुनेगरी दिवस मनाइने बताए । उनले भने, “हाम्रो देश विविधताले भरिपूर्ण छ ती सबै विविधताको उजागर हुने र अपनत्व हुनेगरी दिवसको तयारी छ ।” यसपटकको संविधान दिवस असोज ३ गते बिहान प्रभातफेरीमा प्रतियोगितात्मक विभिन्न जातजातिका झाँकी प्रदर्शनी, वक्तृत्वकला प्रतियोगिता, निबन्ध प्रतियोगिताको आयोजना गर्ने मूल आयोजक समितिले औपचारिक कार्यक्रम गर्ने तयारी छ । असोज २ गतेदेखि ४ गतेसम्म तीन दिनसम्म मनाइने दिवसमा सार्वजनिक सञ्चारमाध्यममार्फत संविधानप्रति अपनत्व जगाउने कार्यक्रम सञ्चालन गर्नुका साथै रक्तदान, वृक्षरोपण, घरआँगन सरफाइ, अस्पतालमा बिरामीलाई फलफूल वितरण, साँझ घरघर र कार्यालयमा दिपावली गर्ने कार्यक्रम रहेको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार