इटहरीमा तत्कालै दमकल हुने: प्रशासकीय अधिकृत भट्टराई –“अब ढिलो हुँदैन,पैसा जुट्यो,काम अघि बढ्छ”

२० वटै वडाबाट एकमुस्ट २५ लाख रुपैयाँको दरले ५ करोड रुपैयाँ नगरमा फिर्ता पठाउने निर्णय

मंगलबार, २५ कार्तिक २०८२

इटहरी : प्रदेशखबरले ‘पैसा नभएपछि दमकल खरिद अलपत्र’ शीर्षकमा समाचार प्रकाशित गरेलगत्तै इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठकले नयाँ दमकल खरिदका लागि आवश्यक स्रोत सुनिश्चित गरेको छ।

जेनजी आन्दोलनका क्रममा इटहरीका दुईवटै दमकलमा आगजनी गरी नष्ट भएपछि तत्काल नयाँ दमकल खरिद गर्ने निर्णय भएको थियो। तर महिनौँ बितिसक्दा पनि खरिद प्रक्रिया अघि नबढ्दा सो विषयमा प्रश्न उठेको थियो।

bab9c780-804b-4036-b966-6fc4169cef42

अन्ततः सोमबार बसेको कार्यपालिका बैठकले स्रोत सुनिश्चित गर्दै तत्काल खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको इटहरी उपमहानगरले जनाएको छ।

कार्यपालिका बैठकले जेनजी आन्दोलनमा क्षतिग्रस्त भएका संरचना र सवारीसाधन मर्मत तथा खरिदका लागि पनि निर्णय गरेको छ।

उपमहानगरका २० वटै वडाबाट एकमुस्ट २५ लाख रुपैयाँका दरले बजेट फिर्ता गरी नगरको पुनर्निर्माण कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर भट्टराईले जानकारी दिए।

त्यसैगरी, योजनामा कुनै असर नपर्ने गरी एकमुस्ट ५ करोड रुपैयाँ नगर पुनर्निर्माणका लागि छुट्टाइने भएको छ। यस रकम नगरका घटाघट भएका वा विवादित योजनाबाट बचत गरिएको बजेटबाट सङ्कलन गरिने इटहरीले जनाएको छ।

आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेका १७ र ८ नम्बर वडाकार्यालयलाई तत्काल भाडाको घर खोजी सञ्चालनमा ल्याइने निर्णय पनि गरिएको छ। साथै, दमकलसँगै ट्रयाक्टर, पानी ट्याङ्कर र अनुगमनका लागि साना सवारीसाधन खरिद गर्ने प्रस्ताव स्वीकृत गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत भट्टराई भन्छन् — “म अनावश्यक विवादमा पर्न चाहँदिन, त्यसैले केही समय पुनर्निर्माण र खरिद प्रक्रिया रोकिएको थियो। तर अब कुनै पनि काममा ढिलाइ हुँदैन, सबै कार्य तीव्र गतिमा अघि बढ्नेछन्।”

कार्यपालिकाको निर्णयअनुसार, जेनजी आन्दोलनपछि अस्तव्यस्त बनेका संरचनाहरूको अवस्थाअनुसार लिलामी प्रक्रिया अघि बढाइनेछ र १५ दिनभित्र सम्पूर्ण काम सम्पन्न गरिनेछ।

यस्तै, स्थगित इटहरी नगरबस सेवा पनि मङ्सिर पहिलो सातादेखि पुनः सञ्चालनमा ल्याउने निर्णय कार्यपालिकाले गरेको छ। 

जेनजी आन्दोलनका क्रममा उपमहानगरका २ ओटा स्कारपियो, २ ओटा दमकल, १ अत्याधुनिक पानी ट्याङ्कर, ३ ट्याक्टर, १ बोलेरो, १ रोलर, १ ग्रेडर, ३ ट्रिपर, १० मोटरसाइकल र १ जेसिभी जलेर ध्वस्त भएका छन्। साथै कार्यालयभित्र रहेका १ सय २२ थान ल्यापटप, कफी मेसिन र अन्य सम्पूर्ण जिन्सी सामग्रीहरू समेत खरानी हुँदा ३५ करोड बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

 

प्रतिक्रिया

न्युज डेस्क
लेखकको बारेमा
न्युज डेस्क
संस्थापक

सम्बन्धित समाचार