जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारका जिन्सी सामान अझै फिर्ता गरेका छैनन् । मुख्यमन्त्री रहँदा सरकारी सुविधास्वरुप लिएका सामान उनले पदबाट हटेको दुई महिनासम्म पनि फिर्ता नगरेका हुन् । उनले जिओनी कम्पनीको एक थान मोबाइल, एप्पलको मोबाइल एक थान, एप्पल कै म्याकबुक एयर एक थान, डेलको ल्यापटप एक थान र प्रदेश ०२ ००१ झ १९३ नम्बरको स्कारपियो गाडी अझै फिर्ता नगरेको सरकारी स्रोतले जनाएको छ ।उनीहरुलाई कार्यालयले क्वार्टर खाली गर्न दिएको म्याद सकिए पनि अझै क्वार्टर खाली भएको छैन ।
मुख्यमन्त्री कार्यालयका एक कर्मचारी भन्छन्, ‘पत्र पठाएका थियौं । तर पत्रमा तोकिएको समयभित्र क्वार्टर खाली नगरेपछि अब नियमानुसार प्रकृया अघि बढाउँछौँ ।’ मुख्यमन्त्री कार्यालयका सचिव नुरहरि खतिवडा भन्छन्, ‘पूर्वमुख्यमन्त्रीको जिम्मामा रहेको सामान फिर्ता गरिदिन पटक पटक जानकारी गराएकै हो । तर अहिलेसम्म फिर्ता भएकोजस्तो लाग्दैन ।’
यस विषयमा मुख्यमन्त्री सरोजकुमार यादवलाई पनि मुख्यमन्त्री कार्यालयका कर्मचारीले जानकारी गराइसकेका छन् । तर, मुख्यमन्त्री यादवले पनि सरकारी सम्पत्ति फिर्ता गराउन अग्रसरता नलिएको कर्मचारीहरुको भनाइ छ ।
साभारः रातोपाटी डटकम
प्रतिक्रिया