विराटनगर । मोरङको पथरीशनिश्चरेमा ससुराको हत्या गरेर फरार भएका ज्वाइँ धनकुटाको मुलघाटबाट पक्राउ परेका छन् ।
ससुराको हत्या गरेर फरार बनेका २७ वर्षीय साइला भनिने रविन राई धनकुटाको मूल घाटबाट आज (आइतबार) बिहान पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय पथरी र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको संयुक्त टोलीले राईलाई पक्राउ गरेको हो ।
पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकमा आफ्नै घरभित्र शनिवार बिहान ६० वर्षीय चन्द्रबहादुर तामाङको बीभत्स शव फेला थियो ।
हत्या गरिएको अवस्थामा बिहान ७ः२० बजेतिर शव भेटिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए । उनका अनुसार आफ्नै घरको प्यासेजमा रगतमा डुबिरहेको अवस्थामा चन्द्रबहादुरको शव फेला परेको थियो ।
आफ्नै घरभित्र चन्द्रबहादुरको बीभत्स शव फेला परेपनि उनका ज्वाइँ रविन राई फरार रहेका थिए । ससुराको हत्या गरेर उनी भागेको रविनको खोजी प्रहरीले तीव्र बनाएको थियो ।
प्रतिक्रिया