उक्त विषयलाई लिएर इलाका प्रहरी कार्यालय इटहरीसम्म जाहेरी परेको थियो । जाहेरी परेपछि मिलापत्र गरिएको थियो । २०६५ सालमा स्थापना भएको सहकारीमा हाल तीन सय ५२ जना सेयर सदस्य रहेका छन् ।
सहकारीकी कलेक्टर रहेकी एक महिलाले नाम नखुलाउने सर्तमा भनिन्, ‘बचतकर्ता घरमै आउँछन्, सरसँग सम्पर्क गराउनु भन्छन् । केही समयअघि हामीलाई एउटा कागजमा ऋण खाने ऋणीले नतिरे, म तिर्छु भनेर हस्ताक्षरसमेत गराएका थिए ।’
उनका अनुसार सहकारीका अध्यक्ष दाहालसहित पदाधिकारीले ऋणीले रकम नतिरे कलेक्टरले तिर्नुपर्ने भन्दै एउटा कागजमा हस्ताक्षरसमेत गराइएको थियो । जुन गैरकानुनी हो ।
सहकारीले बिना धितोसमेत तीन लाख रुपैयाँ कर्जा प्रवाह गर्दै आएको थियो । ‘मन मिलेकाहरूलाई त्यो भन्दा बढी रकमसमेत उपलब्ध गराइन्थ्यो,’ स्रोतले भन्यो, ‘आफूखुसी र जथाभाबी ऋण लगानी गर्दासमेत संस्था जोखिममा परेको हो ।’
उनका अनुसार सहकारी सिद्धान्तभन्दा विपरीत उक्त सहकारी सञ्चालन भएपछि समस्या उत्पन्न भएको हो । कलेक्टरमार्फत संस्थामा जोडिएका बचतकर्ताले संस्थामार्फत ऋण लिएको तर नतिरेको अवस्थामा भने कलेक्टरलाई तिर्नका लागि गैरकानुनी कागज गराएकोसमेत पाइएको छ ।
‘यसअघि गत माघमा १० जना कलेक्टरबाट एक–एक लाख उठाएको थियो, समाजमा मान्छेको अगाडि इज्जत जान्छ भनेर हामीले पनि ऋण खोजेर हालियो,’ ती महिलाले भनिन्, ‘तर, ब्याजसमेत अहिले तिर्नसमेत गाह्रो भएको छ ।’
उक्त संस्थाले यसअघि विभिन्न मितिमा पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थामा रहेको खाता नं. ११–०४५६१–९ नम्बरबाट बचतकर्तालाई चेक काटेर दिएको थियो । १० हजारभन्दा माथि पाँच लाखसम्मका चेक काटेर दिएपनि हाल कुनै चेक साटिएका छैनन् ।
संस्थामा पटक–पटक ताकेता गर्दा पनि नतिरेपछि समस्या भएको एक बचतकर्ता बताउँछिन् । उनले दुःख गरेर कमाएको अलिअलि बचत रकम सहकारीमै डुबेपछि पीडित भएको सुनाइन् । बचतको रकमबापतको चेक दिएपनि चेक नसटेपछि समस्या भएको उनको भनाइ छ । चार महिनाअघिदेखि चेक दिएपनि हालसम्म नसटेको उनको गुनासो छ ।
यता इटहरी उपमहानगरपालिका सहकारी शाखाका प्रमुख बालकुमार पोखरेलले संस्थाका अध्यक्ष दाहाललाई पटक–पटक फोन गरेर बोलाउँदा पनि नआएको बताए । उनले अब तीन दिनको म्याद राखेर पत्र काट्न लागेको बताए ।
‘हामीले २०८० असारसम्मको लेखा परीक्षण प्रतिवेदनसमेत मागिरहेको भएपनि हालसम्म उपलब्ध भएको छैन,’ उनले प्रदेश खबरसँग भने, ‘लेखा परीक्षण रिपोर्ट पनि नबुझाएपछि सहकारी जोखिममा परेको बुझ्न सकिन्छ । यद्यपि, हामीले थप विवरणसमेत माग गर्ने तयारीमा छौँ ।’
इटहरीका अरू सहकारीबारे समस्या बुझ्नका लागि नगर सहकारीको बैठक बस्ने तयारी भइरहेको उनको भनाइ छ । सहकारी संस्थाका अध्यक्ष रहेका दाहालले इटहरीमै पानी उद्योगसमेत सञ्चालन गर्दै आएका छन् । यसबारे बुझ्न दाहाललाई पटक पटक सम्पर्क गरेपनि उनको फोन उठेन ।
प्रतिक्रिया