समय परिवर्तन भए पनि शंखधर साख्वाप्रतिको हाम्रो भावना परिवर्तन हुँदैनः मन्त्री सिंह

सोमबार, २६ कार्तिक २०८१
काठमाडौँ । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले शंखधर साख्वाले सबैलाई समाजमा सहयोग गर्नुपर्छ भन्ने भावना सिकाएको बताएका छन् । सोमबार राष्ट्रिय विभूति शंखधर साख्वा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले शंखधर साख्वाले सबै जनतालाई ऋण मुक्त गरेर नेपाल संवत्को सुरुवात गरेको सम्झना गर्दै उनीबाट सबैले सहयोगी भावना सिक्नुपर्ने बताए । उनले भने, ‘शंखधर साख्वाले सबैलाई ऋण मुक्त गरेर नेपाल संवत्को सुरुवात गर्नु भएको थियो । यो समय परिवर्तन हुदैँ गए पनि शंखधर साख्वा प्रतिको हाम्रो भावना केही परिवर्तन हुँदैन । समाज, दाजुभाइ दिदीबहिनी, समुदायमा कसैलाई दुःख भयोे भने सबैलाई सहयोग गर्नुपर्छ भन्ने भावना उहाँले सिकाउनुभएको छ । त्यो भावना हामीसँग अहिलेको वर्तमान अवस्थामा पनि अझै बढ्दै गएको छ ।’ यस्तै, उनले शंखधर साख्वालाई मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रिय विभूति घोषणा गरेको भन्दै त्यो मन्त्रिपरिषद्को बैठकमा आफू पनि सामेल हुन पाउँदा खुसी लागेको बताए । संस्कृित, परम्परा र भाषाको संरक्षण गर्नका लागि जति सक्दो प्रयास गर्ने पनि उनको भनाइ छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार