यस्ता छन् चुनौती र अवसर !
करिब २० हजार सदस्य रहेको संस्थाको महाधिवेशनका लागि चुनौती र अवसर दुवै पक्ष जोडिएको हुन्छ । जसका लागि आतिथ्य गराइरहेका इटहरी जेसीजका अध्यक्ष सुमन सुवेदी चुनौतीका विषयमा भन्छन् । ‘हामीलाई चुनौतीको विषय भनेको आवास र आर्थिक नै हो । यसलाई राम्रोसँग हामीले व्यवस्थापन गरिरहेको अवस्था रहेको छ ।’
आवासको व्यवस्थापनको जिम्मेवारी समालिरहेको इटहरी जेसीजका महासचिव पराजुलीले भने इटहरीमा ५ हजार जनालाई व्यवस्थापन गर्न सकिने अवस्था रहेको बताउँछन् । उनी थप्छन्,‘त्यसका लागि सहभागीहरूले रजिस्ट्रेसन र सहभागिताका सन्दर्भमा हामीलाई छिटो अपडेट गराउनुपर्ने हुन्छ । जेसीजकर्मीहरुले यसो गर्नुभयो भने हामी व्यवस्थापन गरिहाल्छौँ ।'
अवसरका रूपमा महाधिवेशनमा इटहरीको आतिथ्ययताले बजार समेत चलायमान हुने व्यवसायीहरूको अपेक्षा छ ।
‘कोभिड महामारी र पछिल्लो समयको आर्थिक मन्दीको चपेटाबाट उठिरहेका व्यवसायीहरूलाई ५१ औँ महाधिवेशनले इटहरीलाई ऊर्जा समेत प्रदान गर्ने कुरामा विश्वास लिन सकिन्छ, उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले भने,‘पाँच हजार बढी पाहुनालाई स्वागत गर्न पाउनु र इटहरीमा व्यवस्थापन गर्नुले यहाँको बजार चलायमान बनाउनका लागि पनि मद्दत गर्दछ ।’
महाधिवेशनमा इटहरीका साथै कोशी प्रदेशमा रहेका पर्यटकीय स्थलहरूका बारेमा जानकारी प्रदान गराउन सके ती क्षेत्रको प्रवर्धनमा समेत टेवा पुग्न सक्छ । महाधिवेशनले इटहरीका लागि मात्रै नभएर कोशी प्रदेशकै आन्तरिक पर्यटनको समेत प्रवर्धनमा महत्त्वपूर्ण टेवा पुग्ने छ । जसलाई महाधिवेशनमा देशभरबाट आएका पाहुनाहरूलाई कोशी प्रदेशका पर्यटकीय क्षेत्रका बारेमा अवगत गराउन सक्नु पर्ने छ ।
प्रदेश सरकारले नै अभिभावकत्व लिएको महाधिवेशनबाट प्रदेशका गतिविधिहरू समेत समेटिने अपेक्षा समेत गरिएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष सुवेदीले भने, ‘मुख्यमन्त्रीज्यू आफैँ यसमा चासो देखाइरहनुभएको अवस्था छ । प्रदेश सरकारले आगामी वर्ष २०८२ मा मनाउन लागेको पर्यटन वर्षका लागि पनि कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।’
यसैलाई मध्यनजर गर्दै महाधिवेशनमा पाहुनाहरूलाई सुनसरीस्थित कोश टप्पु वन्यजन्तु, वराहक्षेत्र, रामधुनी मन्दिर, पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, चतरा देखि भोजपुरको सिम्लेसम्म जाने वाटर बोट, ताल तलैया, धनकुटाको भेडेटार, स्काईवाक, नाम्जे, हाइकिङका लागि सिवजट्टा र चिण्डेडाँडा, नमस्ते झरना, मोरङको बेतना सिमसार, गोकर्ण, गोकुलम रिसोर्ट तथा धर्तीको पहिलो धाम पाथीभरा मन्दिर, प्रणामी मुक्तिधाम, नयाँ वृन्दावन गौशाला भ्रमणको प्रबन्ध मिलाइएको जेसिजले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कोशी प्रदेश सरकारका पर्यटन बन तथा वातावरण मन्त्री सदानन्द मण्डलले पनि जेसीज महाधिवेशनमा प्रदेशका पर्यटन, शिक्षा, संस्कृति जस्ता कुराको प्रवर्धनमा सकारले जोड दिने बताएका छन् । एक सन्देश जारी गर्दै मण्डलले महाधिवेशन सफलताको कामना समेत गरेका छन् ।
एक वर्ष एक व्यक्ती एक पद तथा शासन व्यक्तिको हैन विधिको हुनुपर्दछ भन्ने नाराका साथ अगाडि बढिरहेको संस्थाले इटहरी महाधिवेशनबाटै आगामी वर्ष (सन् २०२५)को लागि नयाँ केन्द्रीय कार्यसमिति समेत चयन गर्ने छ ।
प्रतिक्रिया