इटहरी : गुणस्तरहीन चामलको कनिका मिसाएर बेसार पिस्ने मिल र व्यापारीलाई इटहरी उपमहानगरपालिकाले ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।
इटहरी ८ मा रहेको मेघा कुटानी पिसानी उद्योगमा गुणस्तरहीन बेसारको उत्पादन गर्दै आएको भेटिएपछि उपमहानगरपालिकाले जरिबाना तिराएको हो ।
उपभोक्ता हित संरक्षण शाखा इटहरीको अनुगमन टोलीको अनुगमन गर्ने क्रममा बेसारमा गुणस्तरहीन चामलको कनिका मिसाएर पिस्दै गरेको रङ्गेहात फेला पारेको थियो ।
अनुगमन टोलीले तत्काल मिल बन्द गराएर मिसावट गरिएको पिस्दै गरेको र पिस्न तयार पारेको एक सय ८० किलो बेसार बरामद गरेको हो । अनुगमन टोलीले उद्योगमा ताला लगाएको हो ।
इटहरी उपमहानगरपालिकाकी खाद्य निरीक्षक अनु अर्यालका अनुसार मिसावट गरेर बेच्नु गैरकानुनी कार्य हो । 'कानुनअनुसार मिसावट गरेर बेच्न पाइँदैन, अनुगमनको क्रममा गुणस्तरहीन चामलको कनिका मिसाएर बेसार तयार गरेको पाइएपछि जरिबाना र तालाबन्दी गरिएको हो', उनले भनिन् ।
उनकाअनुसार मिल सञ्चालकले जरिबाना रकम तिरिसकेको छ । जरिबाना रकम तिरेपछि उद्योगमा लगाएको ताला खोलिएकोसमेत खाद्य निरीक्षक अर्यालले बताइन् । बरामद गरिएको बेसार नष्ट गरिने उपमहानगरको भनाइ छ ।
प्रतिक्रिया