लामो समय वैदेशिक रोजगारीको सिलसिलामा बाहिरिएका गोपाल विदेशबाट फर्किएर राजनीतिमा होमिएसँगै नेकपा एमालेका तर्फबाट वडा सदस्यमा निर्वाचन जिते । ‘हामी जनप्रतिनिधि भनेको कमाउनका लागि बनेको होइन । जनताको सेवा गर्न आएका हौँँ । स–साना दुःखमा पनि जनतालाई मल्हमपट्टी लगाउन सकियो भने जनतामा आशा पैदा गर्दछ,’ उनले भने ।
जनताले दुःख गरेर कमाएको करमा जनप्रतिनिधिले रजाँईँ गर्न नहुने उनको तर्क छ । ‘म आफैँ विदेशमा गएर पसिना बगाएको मान्छे हुँ । जनतालाई एक रुपैयाँ कमाउनका लागि कति परिश्रम गर्नुपर्ने हुन्छ । त्यहाँबाट कटाएको पैसामा जनप्रतिनिधिले राख्नुहुन्न भन्ने मेरो मान्यता हो,’ उनले थपे ।
जनप्रतिनिधिप्रति आम रूपमा निराशा पैदा भइरहेको वर्तमान समयमा आफ्नो अभियानले आशा पैदा गरेको गिरीको दाबी छ । ‘आम जनप्रतिनिधि साथीहरूले बुझ्नुपर्ने अवस्था पनि छ,’ उनले भने, ‘हामी जनताप्रति उत्तरदायी बन्नुपर्दछ ।’
जनताको भरोसा वडाप्रति, तर बजेट कम
आम जनताको मुख्य भरोसा भनेको स्थानीय तह र त्यसमा पनि वडा रहेको उनी बताउँछन् । निर्वाचन जितेको अढाई वर्ष बितिसक्दासमेत वडाले सङ्कुचित बजेटमा काम गरेको उनको भनाइ छ ।
‘वडाको बजेट कति न हुन्छ त्यो सबै थाहा भएकै कुरा छ । तर, नजिकको सरकार भएर नै जनताको चाहना चैँ बढी वडाप्रति नै हुने रहेछ,’ उनले भने ।
गिरीले जनतासँग वडा सदस्य अभियानसमेत सञ्चालन गरेका छन् ।
‘भौतिक विकासका पूर्वाधार जस्तो कहीँ सडक खाल्टो परिरहेको हुन्छ । त्यस ठाउँमा मर्मत गर्नका लागि आफूलाई आएको रकमबाटै गर्ने योजना बनाएर जनतासँग थप जोडिने तयारीमा रहेको छु,’ गिरीले थपे ।
इटहरीको एक्लो प्रतिनिधि
इटहरीमा रहेका एक सय दुई जना जनप्रतिनिधिमा आफू जनताको कर जनतालाई नै फिर्ता गर्ने एक्लो प्रतिनिधि भएको उनको दाबी छ ।
‘हामीले यो अभियानलाई तीव्रता दिनुपर्ने अवस्था छ,’ उनले भने, ‘देशभरका प्रतिनिधिले यसो गर्न सकियो भने जनताप्रतिको इमानदारिता कायम रहन सक्छ ।’
उनले परेका समस्याका बारेमा जानकारी गराउन अपिलसमेत गरे ।
प्रतिक्रिया