धरान । धरानको चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २५ औँ संस्करण माघ १९ गतेदेखि सुरु हुने भएको छ । धरान फुटबल क्लबले सोमबार पत्रकार सम्मेलन प्रतियोगिताको तयारी भइसकेको जानकारी दिएको हो ।
प्रतियोगितामा ८० लाख १० हजार रुपियाँ अनुमानित खर्च लाग्ने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले बताए । प्रतियोगिताको लागी अनुमानित आय १ करोड २ लाख २५ हजार रहेको तामाङले बताए ।
बुढासुब्बा गोल्ड कपलाई व्यवसायीक बनाउने योजना सहित लागिपरिरहेको अध्यक्ष तामाङले बताए ।
नेपाली फुटबलको इतिहासमा धरान फुटबल क्लबले गर्ने अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताले फुटबल जगतमा इँटा थप्ने काम गरेको कोशी प्रदेश खेलकुद सङ्घका अध्यक्ष किशोर राईले बताए ।
२०५५ साल देखि सुरु भएको प्रतियोगिता कोभिडको कारण २ वर्ष रोकिए पनि त्यस पश्चात् निरन्तर भइरहेको राईले बताए ।
प्रतियोगितामा चर्च ब्वाईज क्लब (लिग च्याम्पियन) , एनआरटी क्लब काठमाडौँ, नेपाल पुलिस क्लब, भुटान फुटबल क्लब एकेडेमी, त्रिभुवन आर्मी क्लब,इटहरी जागृत क्लब, युके एफसी (भारत), मच्छिन्द्र क्लब काठमाडौँ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, धरान फुटबल क्लबले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिता ८ दिन सम्म चल्ने छ ।
प्रतियोगितामा विजेताले दश लाख रुपियाँ, उपविजेताले पाँच लाख रुपियाँ पाउनेछ । यस्तै उत्कृष्ट खेलाडीलाई एक लाख, सर्वाधिक गोल कर्तालाई ३५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १५ हजार रुपियाँ प्रदान गरिनेछ । उत्कृष्ट विधाका खेलाडीलाई जनही २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उपविजेताले पाउने पाँच लाख रुपियाँ धरान १५ निवासी हाल पोर्चुगलमा रहेका अरुण राईले प्रदान गर्ने अध्यक्ष तामाङले बताए । गत वर्षको विजेता एनआरटी क्लब काठमाडौँ र उपविजेता जिल्ला फुटबल सङ्घ मोरङ भएको थियो ।
प्रतिक्रिया