मन्त्री राई यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा जिल्लाकै दिप्रुङ चुइचुम्बा गाउँपालिकाका अध्यक्ष रहेका थिए । प्रदेशको महामन्त्री हुँदै जिल्ला सभापति र प्रतिनिधिसभा सदस्यको सिफारिसमा परे पनि गठबन्धनमा भाग नपरेपछि कोशी प्रदेशसभा सदस्य बनेका राईमाथि आफ्नै पालिकामा कांग्रेसका उम्मेदवार हराउन लागेको आरोपसमेत छ ।
जिल्लाका सभापति राई डा.शेखर कोइराला पक्षधर हुन् भने मन्त्री राई कृष्णप्रसाद सिटौला समूहका हुन् । जिल्ला कार्यसमितिमा कोइराला समूह एकलौटी रहेको छ । यता कोशी सरकारमा कोइराला समूहले अझै सहभागिता जनाएको अवस्था छैन ।
सरकारमा सहभागी हुनुको सट्टा कोइराला समूहले भने सरकारकै आलोचनामा समय खर्चिदैँ आएको छ ।
मन्त्री र सभापतिको द्वन्द्व के हो ?
खासगरी खोटाङमा जिल्ला सभापति विष्णुकुमार राई र कोशी प्रदेशका मन्त्री भूपेन्द्र राईबीचको द्वन्द्वले नै पार्टी चलायमान हुन नसकिरहेको कार्यकर्ताको टिप्पणी छ । गत स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एकले अर्काका उम्मेदवार हराउन लागेको भन्दै एकले अर्कालाई केन्द्रमा कारबाहीका लागि नै सिफारिस गरेको अवस्था रहेको छ ।
भेटघाट तथा पुनर्मिलन कार्यक्रममा सहभागीलेसमेत एकले अर्कालाई गरेको कारबाहीले पार्टी उभो लाग्न नसक्ने उल्लेख गरेका थिए । एक सदस्यले भने, कारबाही गरेर पार्टीबाट निकाल्दा पार्टी ठूलो हुन्छ भनेर कसरी भन्न सकिन्छ र ?’
यस्तै जिल्ला कार्यसमितिका उपसभापति इवन राई भन्छन् ‘खासगरी एकले अर्कालाई गरेको कारबाही केन्द्रले के गर्ने हो त्यसलाई निर्मूल गरिदिएमा पार्टी चलायमान हुने थियो ।’ सिफारिस गरिसकेको अवस्थामा तिक्तताको अवस्था रहने बताएका उनले न्याय गर्ने र मिलाउने ठाउँ केन्द्र नै भएकाले निर्णय गरेमा राम्रो हुने उल्लेख गरे ।
मन्त्री राईको दाबी : काम गर्न नसके भोट माग्न जाँदिन
मन्त्री राईले आफूलाई खोटाङका जनताले विश्वास गरेर प्रतिनिधि पठाएको उल्लेख गर्दै काम गर्न नसकेमा पुनःभोट माग्नै नजाने बताए । जिल्लाका नागरिकहरू सहभागी हरेक कार्यक्रममा उनको वक्तव्यमा जोडिने गर्दछ, ‘पार्टीले मलाई काम गर्ने मन्त्रालयमा पनि पठाएको छ । भौतिक मन्त्रालयमा बसेर पनि मैले काम गर्न नसके म आफ्नो लागि पनि भोट माग्दिन, पार्टीको साथीका लागि पनि भोट माग्दिन ।’
आफू प्रदेशको मन्त्री भएकाले हरेक जिल्लाको विकाससँग केन्द्रीत भएपनि खोटाङमा बढी हुने उनको तर्क छ । उनी थप्छन् ‘खोटाङ त मेरो गृह जिल्ला पनि हो नि ।’
खोटाङमा कांग्रेस बलियो अवस्थामा रहेको राईको दाबी छ । ‘कम्युनिष्टविरूद्ध ज्यानको बाजी लगाएका कांग्रेसीले जसरी योगदान गर्नुभएको छ । आज त्यसैको परिणाम हामीले बहुमत पालिकाको नेतृत्व गरिरहेका छौं । एकजुट भएमा हामीसँग जनताको ताकत छ,’ राई भन्छन् ।
के खोटाङ विकासमा पछाडि छ त ?
कोशी प्रदेशका अन्य जिल्लाको तुलनामा खोटाङ पछाडि नै रहेको छ । खासगरी जिल्लाको दक्षिणी भेग तराईसँगको यातायातमा प्रत्यक्ष नजोडिँदा स्थानीयले सास्ती खेप्नु परेको त छ नै, बसाईँसराईको संख्या पनि उत्तिकै बढेको छ ।
अर्कोतर्फ गाईघाट–दिक्तेल सडकखण्डको सुनकोशीमा बनेको पक्की पुल गत असोजमा अविरल वर्षाका कारण आएको बाढीले बगाएपछि सिधा यातायात नै टुटेको अवस्था छ ।
त्यसका अलावा धाप्लाङघाट र बंशीलाघाटमा बन्ने भनिएको पुल अलपत्र अवस्थामा हुँदा दक्षिणी भेगका स्थानीय समस्यामा परेका छन् । जुन क्षेत्र मन्त्री राईकै क्षेत्र हो । तर, मन्त्री राईले भने धाप्लाङघाट र बंशीलाघाटमा जसैगरी पनि आफ्नो कार्यकालभित्र पुल बनाइसक्ने दाबी गर्दै आएका छन् ।
प्रत्यक्ष सडक सञ्जाल नभएका कारण जिल्ला पछाडि परेको स्थानीयवासीहरू बताउने गर्छन् । सडकको पहुँच नहुँदा शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनजस्ता कुराहरूमा समस्या खेपरिहनु परेको अवस्था रहेको छ ।
जसका कारण तराईसँग नजिक भएको जिल्ला भएर पनि बसाईँसराई बढ्दो छ । अतः त्यहाँका जनताले औपचारिक कार्यक्रमका भाषण, पार्टीका गुटउपगुट मात्रै नभएर आफ्ना नेताबाट विकास खोजिरहेको बताइन्छ ।
प्रतिक्रिया