नेपाली सेनाको इलामस्थित रणसार्दुल गणसहित जिल्लाका तीन वटा पालिकाको समन्वयमा पुस २४ गतेबाट २६ गतेसम्म पदयात्रा गरिँदै छ ।
जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिका, भारतसँग सीमा जोडिएको सूर्योदय नगरपालिका र निसान बीचमा राखिएको माईजोगमाई गाउँपालिकाको संयुक्त आयोजनामा पदयात्राको तयारी भएको हो ।
निसानसँग नेपाली सेनाको छुट्टै र ऐतिहासिक नाता भएका कारण पनि नेपाली सेनाले यसको संरक्षण गर्दै आएको छ ।
भारतसँग सीमामा राखिएको निसान फर्काइको बाटोको संरक्षण गर्दै निसान पदयात्राको तयारी गरिएको रणसार्दुल गण इलामका गणपति प्रह्लाद घलेले बताए ।
बुधबार (आज) शुभारम्भ भएर पूूर्णेडाँडामा बास बसेको पदयात्राको टोलीले बिहीबार पुनः सोही स्थानबाट औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
निसान बास बसेको माइजोगमाई गाउँपालिकाको नामासालिङस्थित हात्ती टारमा आएर बिहीबार बास बस्ने कार्यक्रम तय भएको छ । एक सय पचास भन्दा बढी संख्या रहेको टोली जहाँ पुग्छ सोही वडाको संयोजनमा व्यवस्थापन भइरहेको सूर्योदय नडा नम्बर ४ का वडाध्यक्ष शरण राईले बताए ।
२६ गते बिहान नामसालिङको हात्ती टारबाट सुरू भएको पदयात्रा माई बेनी, तिल्केनी हुँदै हाल निसान रहेको इलाम सदरमुकाम निस्कनेछ । सदरमुकामस्थित माई स्थान मन्दिरमा हाल निसान र तोप राखिएको छ । सोही स्थानमा आएर पदयात्रा कार्यक्रमको समापन हुनेछ ।
पदयात्रामा तत्कालीन नेपाली सेनाको पोसाकसहित नेपाली सेनाको सहभागिता रहेको छ । निसानको साङ्केतिक निसानसहित तत्कालीन दौरा सुरुवाल सहितको नेपाली सेनाको पोसाकमा १० जना सेना रहेका छन् ।
कालो पोसाकको त्यसबेलाको नेपाली सेनाको पोसाकमा सजिएका सेनासहित तत्कालीन समयमा प्रयोग भएका वस्तुहरू समेत पदयात्रामा प्रदर्शन भइरहेको छ । विभिन्न जातजातिका झाँकी तथा पन्चे बाजालेसमेत पदयात्रीलाई स्वागत गरेका छन् ।
प्रतिक्रिया