माधवनारायण मेला त्रिवेणीधाममा सुरु

सोमबार, २९ पुस २०८१
भक्तपुर : नेपाल संवतको आठौँ शताब्दीमा प्रारम्भ भएको एक महिने माधवनारायण व्रत एवं मेला आजदेखि भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा सुरु भएको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म आयोजना हुने मेलामा आज हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान तथा सूर्यलाई अघ्र्य दिएर व्रत सुरु भएको पुजारी सरोजन शर्माले बताए । साँखुको शालिनदीमा भन्दा पहिलादेखि यो मेला एवं व्रत सुरु भएको शिलालेख एवं ग्रन्थमा उल्लेख भएको उनले बताए । नेपाल संवत् ७२२ मा राजा रणजित मल्ल आफैँ उपस्थित भएर व्रत प्रारम्भ भएको शिलालेखमा रहेको उनले बताए । माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जलग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जलग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको पुजारी शर्माले जानकारी दिए । त्रिवेणीमा दैनिक नित्य पूजा तथा माधवनारायणको कथावाचन र हनुमानघाट त्रिवेणी कुण्डमा दैनिक स्नान गर्ने गरिन्छ । बर्तालुहरू खाली खुट्टामा पैदल यात्रा गरी तील माधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गर्छन् । उनीहरू अष्टमीमा फर्कन्छन् भने दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्छन् । साथै द्वादशीमा चाँगुनारायण शङ्खदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमामा नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएपछि व्रत समापन हुने बर्तालु विनोदकुमार प्रजापतिले जानकारी दिए। बर्तालुहरू त्रिवेणीघाटमा महिना दिनसम्म बसेर व्रत पूरा गर्छन् भने कतिपय बर्तालु भने हरेक दिन बिहान त्रिवेणीघाटमा आएर नुहाउँछन् । आजदेखि एक महिनासम्म यहाँ माधवनारायणको कथा पनि वाचन हुन्छ । यस वर्ष महिला र पुरुषले गरी ३० जनाले माधवनारायणको व्रत बसेको माधवनारायण व्रत समितिका सचिव लक्ष्मीप्रसाद रञ्जितले जानकारी दिए । मेला सञ्चालनका लागि ढल बगिरहेको हनुमानघाटस्थित त्रिवेणीधाम खोलामा डोजर लगाएर स्नान गर्नका लागि खाल्डो बनाइएको छ ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार