विराटनगर : विराटनगर महानगरपालिका–५ विशाल चोकस्थित मामाघर आएकी बालिकाको हत्या गरी शव खाल्डोमा पुरेको अवस्थामा फेला परेको घटनामा बालिकाकै बाबुआमा र मावली परिवारकोसमेत संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ ।
हत्या गत माघ ११ गते शुक्रबार राति भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
यद्यपि, अनुसन्धानका क्रममा पक्राउ परेकाहरूबाट भने घटनाका बारेमा थप कुरा खुल्न नसकिरहेको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि प्रहरीले थप सोधपुछ र अनुसन्धान गरिरहेको छ ।
भारतको बिहारस्थित छपरा जिल्लाकी १४ वर्षीया चाँदनी यादव आफ्ना बाबुआमासँगै करिब एक महिनाअघि मामाघर आएकी थिइन् ।
हत्या गरी मावली घरनजिकै खाल्डो खनेर गाडेको अवस्थामा शुक्रबार (माघ १८ गते) १४ वर्षीया चाँदनी यादवको शव फेला परेको थियो । प्रहरीले उत्खनन गरेर शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगेको थियो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले पोस्टमार्टमका लागि आवश्यक प्रक्रिया सुरू गरिएको जानकारी दिए । उनका अनुसार पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा लगाइने छ ।
हत्या गरेकी चाँदनी बाबु लालमोहन यादव र आमा राजकुमारी मण्डल यादवसँगै करिब एक महिनाअघि विराटनगर–५ स्थित मामाघर आएकी थिइन् । बाबुआमा मामाघरबाट चाँदनीलाई नलिइकन आफ्नो घरतर्फ फर्किएका थिए ।
बाबुआमाले नलगेकी चाँदनी मामाघरमा पनि नदेखिएपछि उनी बेपत्ता भएको हल्ला गाउँमा गाइँगुइँ चल्न थाल्यो । त्यो सूचना प्रहरीमा पुग्यो । डीएसपी जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोजतलास गरी शव गाडेको स्थान पत्ता लगाएको हो ।
चाँदनीको हत्यापछि मामाघरबाट एक सय २५ फिट दक्षिणमा चार फिट गहिरो खाल्डो खनेर शरीरका कपडासहितको शव गाडिएको थियो । ‘भारतमा १ व्यक्तिसँग चाँदनीको प्रेम सम्बन्ध रहेछ । ती व्यक्तिसँग छुटाउने उद्देश्य राखी बाबुआमाले उनलाई मामली लिएर आए । तर, चाँदनीले छुट्न नसक्ने अड्डी कसिन् । रिसको झोंकमा सबै मिलेर हत्या गरेपछि घटना लुकाउन शव गाडेको पाइयो,’ प्रहरी स्रोतले भन्यो ।
स्रोतका अनुसार चाँदनीको हत्यापछि शव व्यवस्थापन गरेर बाबुआमा भारतस्थित घर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘मावली परिवारसँग मिलेर छोरीको हत्या गरेपछि बाबु लालमोहन र आमा राजकुमारी घर फर्किएछन्,’ स्रोतले भन्यो, ‘घटनालाई स्थापित गर्न थप सबुत संकलन गर्ने काम भइरहेको छ ।’
हत्या कसरी गरियो भन्ने यकिन छैन । ‘हत्या कसरी भयो भनेर अहिल्यै भन्न सकिँदैन । हेरेर अनुमान गर्नसक्ने अवस्था छैन । शव सडेर दुर्गन्धित भएको अवस्थामा भेटिएको छ । घटना यकिन गर्न पोस्टमार्टम रिपोर्ट आउनैपर्छ । थप अनुसन्धानसमेत भइरहेको छ,’ डीएसपी जोशीले भने ।
उनका अनुसार भारतमा एक व्यक्तिसँगको प्रेम सम्बन्धकै कारण चाँदनीको हत्या भएको निष्कर्षमा पुगिएको छ । प्रारम्भिक अनुसन्धानबाट घटनामा बाबुआमादेखि मावली परिवारसम्मको संलग्नता देखिने जोशीले बताए । ‘हत्यामा को को व्यक्ति संलग्न छन् भनेर यकिन गर्ने काम भइरहेको छ,’ उनले भने ।
उनका अनुसार बालिका बेपत्ता भएको जानकारी आउनसाथ प्रहरी पुग्दा हजुरबुवा सरजुग मण्डलले नातिनी आफ्नै घरतिर गइसकेको बताएका थिए । प्रहरीले बाबुआमासँग सम्पर्क गर्दा छोरी मामाघरमै रहेको बताए । पछि आफूहरूसँगै रहेको पनि भनेर प्रहरीलाई ढाँटे ।
चाँदनीको हत्याको विषयमा थप कुरा पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको जोशीले बताए । घटनापछि चाँदनीका मावली हजुरबुवा अन्दाजी ५७ वर्षीय सरजुग मण्डल, उनकी पत्नी जानकी मण्डल, सरजुगका भाइ पर्ने बतासी मण्डल, छोरा रामबाबु मण्डल, जेठी छोरी उर्मीला मण्डल, नातिनी अञ्जली मण्डल र नाति बबिदेवल मण्डललगायत ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
प्रहरी नियन्त्रणमा रहेकाहरूले सोधपुछ गर्दा वास्तविक कुरा नबताइरहेको डीएसपी जोशीले जानकारी दिए । प्रहरीले थप प्रमाण जुटाउने काम गरिरहेको उनले बताए ।
यो पनि – विराटनगरमा मामाघर आएकी बालिकाको हत्या गरी खाल्डोमा पुरेको अवस्थामा शव फेला, यसरी खुल्यो रहस्य
प्रतिक्रिया