इलाम : १५औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता यही फागुन ४ गतेदेखि इलामको माई नगरपालिकामा सुरु हुने भएको छ।
जिल्लास्तरीय यो प्रतियोगिता फागुन ४ देखि ६ गतेसम्म माई नगरपालिकाको सितलीस्थित खेलमैदानमा सञ्चालन हुनेछ।
प्रतियोगितामा जिल्लाका १० वटै पालिकाबाट ८९५ जना विद्यार्थी खेलाडीहरूको सहभागिता रहनेछ। साथै, रेफ्री र प्राविधिकसहित १२० जना तथा प्रतिनिधि शिक्षक र अन्य सहभागी गरी करिब १५०० भन्दा बढी व्यक्तिहरू यो प्रतियोगितामा संलग्न हुनेछन्।
आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बास्तोलाका अनुसार प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्टका विभिन्न विधाहरू समावेश गरिएका छन्। सबै खेलमा छात्र र छात्राका लागि छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको छ। खेलमैदानको मर्मतसम्भारदेखि अन्य व्यवस्थापन कार्य धमाधम अघि बढिरहेको आयोजकले जनाएको छ। प्रतियोगिताका लागि माई नगरपालिकाले १३ लाख रुपैयाँ सहयोग गरेको छ। मेयर खम्बसिंह लिम्बूका अनुसार प्रतियोगिता सञ्चालनका लागि नगरका सबै जनप्रतिनिधि र कर्मचारी सक्रिय रूपमा जुटेका छन्।
उपमेयर हिमा भण्डारीले प्रतियोगितालाई व्यवस्थित बनाउन अन्तपालिका, स्वास्थ्य उपचार, र खेलमैदान व्यवस्थापन जस्ता विभिन्न उपसमिति गठन गरिएको जानकारी दिइन्।
माई नगरपालिकाका लागि जिल्लास्तरको प्रतियोगिता आयोजना गर्नु एउटा ठूलो अवसर रहेको मेयर लिम्बूले बताए। उनले उत्कृष्ट व्यवस्थापनको लागि नगरले सम्पूर्ण स्रोतसाधन परिचालन गरेको उल्लेख गरे।
गत वर्ष २०७९ सालको प्रतियोगिता फाकफोकथुममा र २०८० सालको प्रतियोगिता माङ्सेबुङ गाउँपालिकामा सम्पन्न भएको थियो।
यसपटक माई नगरपालिकामा आयोजना हुने यो प्रतियोगिताले स्थानीय खेलकुद क्षेत्रको विकास र नयाँ प्रतिभाहरूको पहिचान गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया