पाँचथर : भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको अवसरमा पाँचथर सदरमुकाम फिदिममा आयोजित कन्सर्टमा दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले पहिलो पटक प्रस्तुति दिएर दर्शकलाई सांगीतिक माहौलमा रमाएका छन्।
आयोजकले कार्यक्रम साँझ ८ बजेदेखि सुरु हुने भने पनि स्थानीय कलाकारहरूको प्रस्तुति, सम्मान र पुरस्कार वितरणपछि दीपक बज्राचार्यलाई स्टेजमा बोलाउँदा रातको १० बजिसकेको थियो।
स्टेजमा उक्लिएर सबै व्यवस्थापन मिलाएपछि दीपकले आफ्नो पहिलो गीत "म त हावा सँगै आउँछु" गाउन सुरु गरे। दोस्रो गीत गाउँदासम्म माहौल तातिन थालेको थियो। तेस्रो गीत "काँचो माया पियारी" को प्रस्तुति गर्दा दर्शक झन् उत्साहित बने।
पाँचौं प्रस्तुति "मायाको डोरीले" गाउन सुरु गर्दा लाखे नाचसहित धिमे बाजा स्टेजमा प्रस्तुत हुँदा दर्शक झन् रमाए। कार्यक्रममा उनले "ओ अमिरा", "काली काली", "कसले देला धन" लगायत नयाँ र पुराना गरी १२ वटा गीत गाए।
रिदम ब्याण्डको यो प्रस्तुति दुई घण्टा मध्यरातसम्म चल्यो। अधिकांस दर्शक नाचेर पसिनाले निथ्रुक्क भएका थिए। दर्शकले दीपकका हरेक प्रश्नमा उत्साहित प्रतिक्रिया दिएका थिए।
पाँचथर, ताप्लेजुङ, तेह्रथुम र इलामबाटसमेत हजारौं संगीत पारखी फिदिम माध्यमिक विद्यालयको मैदानमा कन्सर्ट हेर्न भेला भएका थिए। विशेष गरी युवायुवतीको उत्साहजनक उपस्थिति देखिएको थियो।
कार्यक्रममा नेवारी धिमे बाजा, लाखे नाच, जात्रा र कुमारी नृत्यले धेरै दर्शकको मन खिचेको थियो। तेह्रथुमको आठराईबाट आएकी रमा कन्दङवाले यस्ता सांस्कृतिक पक्षले आफूलाई निकै आकर्षित गरेको बताइन्।
हेल्प टुगेदर फाउन्डेसनले आयोजना गरेको यस कार्यक्रमको उद्देश्य युवामाझ बढ्दो लागू पदार्थ दुर्व्यसन न्यूनीकरण गर्नुका साथै पर्यटन प्रवर्द्धन गर्नु रहेको फाउन्डेसनका अध्यक्ष सुशिल श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया