पाँचथरमा सिवा कला, साहित्य, संस्कृति महोत्सव सुरु

आइतबार, ०४ फागुन २०८१
पाँचथर : मौलिक संस्कृति र भेषभूषामा सजिएका झाँकीहरूको प्रदर्शनी गर्दै पाँचथरको फिदिम नगरपालिका-६ मा सिवा कला, साहित्य, संस्कृति महोत्सव सुरु भएको छ। फागुन ७ गतेसम्म सञ्चालन हुने महोत्सव वडा कार्यालयको सहयोग र सिवा साहित्य, सांस्कृतिक तथा खेलकुद महोत्सव आयोजक समितिको आयोजनामा सुरु भएको हो। महोत्सवको मुख्य उद्देश्य रैथाने संस्कार र संस्कृति प्रवर्द्धन गर्नु हो। महोत्सवमा झाँकी प्रदर्शनी, आदिवासी जनजातिका सांस्कृतिक नृत्य, पूर्वेली लोकलयमा आधारित हाक्पारे, ख्याली र पालाम प्रतियोगिता, साहित्यिक संगोष्ठी, र भलिबल प्रतियोगिता जस्ता विविध कार्यक्रमहरू समेटिएका छन्। महोत्सवको उद्घाटन कोशी प्रदेश सभा सदस्य मैया श्रेष्ठ लावतीले गरेकी हुन्। उद्घाटन समारोहमा लिम्बू, मगर, र राई समुदायको सांस्कृतिक झाँकी नृत्य प्रदर्शन गरिएको थियो। महोत्सवका संयोजक विपन तुम्रोकका अनुसार, यहाँ वर्षौँदेखि सञ्चालन हुँदै आएको अर्थबाज मेलाको अवसरमा यो कार्यक्रम आयोजना गरिँदै आएको छ। पछिल्ला दुई वर्षदेखि कला, साहित्य, संस्कृति र खेलकुद महोत्सव पनि यस अवसरमा थपिएको छ। सदियौँदेखि जोगिँदै आएको स्थानीय कला, साहित्य र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै यसको संरक्षण र प्रवर्द्धन गर्नु महोत्सवको मुख्य लक्ष्य रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार